Skip to content
Prabhu

कानुनी कारबाहीबाट १० करोडभन्दा बढी राजस्व संकलन

nabil

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरले लामो समयदेखि राजस्व नबुझाउने २० वटा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमाथि कानुनी कारबाही गरी १० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालय प्रमुख किशोर बर्तौलाकानुसार गत आर्थिक वर्ष २०८०र८१ मा कानुनी कारबाही गरेर जरिवानाबाट उक्त रकम संकलन गरिएको हो । लामो समयदेखि कर अर्थात राजस्व नबुझाउने एक सय ७८ व्यावसायिक प्रतिष्ठानलाई कारबाही गर्ने सूचना जारी गरेपछि त्यसमध्येका २० व्यावसायिक प्रतिष्ठानले जरिवाना रकम बुझाएका हुन् ।

कार्यालयबाट प्राप्त विवरणअनुसार कार्यालयअन्तर्गत ३७ हजार व्यावसायिक करदाता छन् । जसमध्ये गत आर्थिक वर्षमा १५ हजार करदाताले वार्षिक आयव्यय अर्थात राजस्व बुझाएका छन् । अहिलेसम्म २२ हजार व्यावसायिक पान नम्बर लिएका करदाताले राजस्व नतिरेको कार्यालयबाट प्राप्त विवरणमा उल्लेख छ ।

साथै अघिल्लो आव २०७९र८० को तुलनामा गत आर्थिक वर्ष २०८०र८१ मा राजस्व संकलनमा वृद्धि भएको कार्यालयले जनाएको छ । अघिल्लो आवमा तीन अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

कार्यालयलाई गत आर्थिक वर्ष ४ अर्ब ४६ करोड ६३ लाख ९३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा ३ अर्ब ८२ करोड ८३ लाख ७५ हजार राजस्व सङ्कलन भएको थियो ।
अघिल्ला आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ११ प्रतिशतले राजस्व वृद्धि भएको कार्यालय प्रमुख बर्तौलाले जानकारी दिए ।

गत आवमा कार्यालयले लिएको लक्ष्यअन्तर्गत आयकर वापत १ अर्ब ४५ करोड ४७ लाख, घर भाडावापत ५ करोड ३५ लाख ६६ हजार रुपैयाँ, ब्याजकर वापत ११ करोड ११ लाख २२ हजार रुपैयाँ मूल्य अभिवृद्धिकरवापत एक अर्ब ३० करोड १५ लाख ५५ हजार रुपैयाँ , अन्तशुल्क वापत एक अर्ब ५३ करोड ४२ लाख ८७ हजार रुपैयाँ, स्वास्थ्यकर वापत ११ लाख तीन हजार तथा शिक्षाकर वापत ४९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो ।

गत वर्ष आयकरवापत १ अर्ब १९ करोड ३८ लाख ७१ हजार रुपैयाँ, घरभाडा वापत ३ करोड ५० लाख २२ हजार रुपैयाँ, ब्याजकरवापत सात करोड २० लाख ७४ हजार रुपैयाँ, मूल्यअभि वृद्धिकरवापत ९७ करोड ७८ लाख ६२ लाख रुपैयाँ, अन्तशुल्ककरवापत १ अर्ब ५४ करोड ६६ लाख २१ हजार, स्वास्थ्यकरवापत १५ लाख ३१ हजार रुपैयाँ, शिक्षाकरवापत एक लाख ६८ हजार तथा अन्यकरवापत १२ लाख २६ हजार गरी कूल ३ अर्ब ८२ करोड ८३ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख बर्तौलाले जानकारी दिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal