Skip to content
Prabhu

कैलाली भन्सारद्वारा १ वर्षमा ७ अर्ब ९१ करोड राजस्व संकलन

कैलाली । कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा ७ अर्ब ९१ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयलाई गत आवमा रु. ११ अर्ब ५८ करोड २४ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य दिइएको थियो ।

भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार सवारीसाधान, पेट्रोलियम पदार्थ, निर्माण सामग्री, हार्डवेयरका सामान, खाद्यान्न, तरकारी, कपडालगायतका सामानको आयात घटेकाले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकिएको हो ।

आव २०८०/८१ मा भन्सार महसुलबापत रु. तीन अर्ब एक करोड, मूल्य अभिवृद्धि करबापत रु. तीन अर्ब १७ करोड, अन्तः शुल्क बापत रु. २० करोड ४४ लाख र अन्य शुल्क बापत रु. एक अर्ब ५२ करोड राजस्व सङ्कलन भएको उनले बताए ।

भन्सार कार्यालयले आव २०८०/८१ मा लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयको तथ्याङ्क अनुसार आव २०७९/८० मा रु. आठ अर्ब २९ करोड राजस्व सङ्कलन गरेको थियो । आव २०७८/७९ मा रु. नौ अर्ब ५८ करोड राजस्व असुली भएकामा आव २०७७/७८ मा रु. आठ अर्ब ८४ करोड सङ्कलन भएको थियो ।

यसैगरी, आव २०७६/७७ मा कोभिड–१९ महामारीका कारण रु. चार अर्ब ९२ करोड मात्रै राजश्व सङ्कलन भएको थियो भने आव २०७५र७६ मा रु. पाँच अर्ब १९ करोड सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal