Skip to content
Prabhu

पर्वतमा १९५ उद्योग नयाँ दर्ता, २३६ उद्योग बन्द

nabil
पर्वत । कोभिड–१९ सङ्क्रमणपछि देखिएको आर्थिक मन्दीको प्रभाव पर्वतका उद्योग व्यवसामा पनि परेको छ । पर्वतमा गत आर्थिक वर्षमा दर्ता भएका उद्योग व्यवसकायको तुलनामा बन्द हुने उद्योग व्यवसायको सङ्ख्या बढेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा पर्वतमा एक सय ९५ उद्योग, व्यवसाय फार्म दर्ता भएकामा दुई सय ३६ वटा बन्द भएका छन् । पर्यटन तथा उद्योग कार्यालयका अनुसार गत आवमा ९४ उद्योग दर्ता भएकामा एक सय सात खारेज भएका छन् । एक सय एक वाणिज्य फार्म दर्ता भएकामा एक सय २९ फार्म खारेज भएको कार्यालय प्रमुख अशोककुमार नेपालीले जानकारी दिए ।
पर्वतमा आर्थिक वर्ष २०७९/८० सम्म तीन हजार चार सय २६ उद्योग र तीन हजार दुई सय ७५ वाणिज्य फार्म रहेकामा आव २०८०/८१ को अन्त्यमा घटेर तीन हजार चार सय १३ उद्योग र तीन हजार दुई सय ४७ वाणिज्य फार्म कायम रहेको कार्यालय प्रमुख नेपालीले बताए । एकै वर्षमा ४७ उद्योग बन्द भएका छन् ।
आर्थिक मन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातीत वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग बन्द हुने क्रम बढेको छ । उद्योग व्यवसाय छाडेर विदेश जान थालेपछि बजार क्षेत्रका २० प्रतिशत सटर खाली भएको उद्योग वाणिज्य सङ्घ पर्वतका अध्यक्ष ठाकुरवि पौडेलले बताए । व्यापार व्यावसायमा परेको मन्दीले उद्योगी, व्यवसायी पलायन हुनेक्रम बढेको उनको भनाइ छ ।
लाखौँ रुपैयाँ लगानी गरेर उद्योग व्यवसाय सञ्चालन गरे पनि पर्याप्त आम्दानी हुन नसकेपछि व्यवसायी विस्थापित हुनुपरेको छ । कोरोना सङ्क्रमणपछि दर्ता हुने उद्योगको तुलनामा खारेज हुने क्रम उल्लेख्य मात्रामा रहेको कार्यालयले जनाएको छ । कोरोना सङ्क्रमणपछि देखिएको चौतर्फी आर्थिक मन्दीको प्रभाव उद्योग व्यवसायमा परेको हो ।
पर्वतमा अघिल्लो आर्थिक वर्षमा ९२ उद्योग खारेज भएका थिए । दुई ७४ वटा उद्योग तथा व्यवसाय दर्ता भएकामा ९२ खारेज भएका थिए । कार्यालय प्रमुख नेपालीका अनुसार कृषि, पशुपन्छी फार्म, फलफूलखेती, गाईपालन, भैँसीपालन, व्यावसायिक बाख्रापालनलगायत घरेलु उत्पादनका उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको पाइन्छ । वैदेशिक रोजगारीमा जाने विद्यार्थीका लागि स्वदेशमै उद्यम गरेको प्रमाण देखाउनुपर्ने भएकाले पनि उद्योग दर्ता बढेको उनले बताए । वाणिज्य फार्मतर्फ दर्ताको सङ्ख्यासँगै फार्म बन्द हुने सङ्ख्या पनि बढेको छ ।
पर्यटन तथा उद्योग कार्यालयले आव २०८०/८१ मा ९७ दशमलव ७७ प्रतिशत प्रगति हासिल गरेको छ। पर्वतमा गत आर्थिक वर्षमा ५५ पर्यटन पूर्वाधार निर्माण भएका छन् भने ६९ जनालाई सीप विकास तालिम प्रदान गरिएको छ । त्यसैगरी कार्यालयले २२ उद्योगलाई प्रविधि हस्तान्तरण गरेको छ । आव २०८०/८१ मा कार्यालयले  २२ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal