Skip to content
Prabhu

बेतबाँस हस्तकला उद्यमबाट आत्मनिर्भर ललिता

कैलाली । धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीकी ललिता चौधरीले लामो समयदेखि व्यावसायिक रुपमा बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आएकी छन् । बेतबाँसबाट विभिन्न सामग्री उत्पादन गर्दै आएकी उनलाई श्रीमान् र परिवारको साथ सहयोग छ ।

बेतका सामग्री बनाउने उनले अहिलेसम्म कुनै पनि तालिम लिएकि छैनन् । सुरुमा दिदीको काममा सहयोग गर्दै आएकी उनले काम सिकेपछि उद्यम सुरु गरेको बताइन् । विसं २०७५ मङ्सिरमा घरेलु कार्यालय धनगढीमा फार्म दर्ता गरी उनले उद्यम सुरु गरिन र उनको घरपरिवारको सम्पूर्ण खर्च धान्ने स्रोत यही बेतबाँस उद्योग बनेको छ । दुई छोरी, एक छोरा, श्रीमान् र आफूसमेत गरी पाँच जनाको उनको परिवार छ ।

‘व्यवसाय सुरु गर्दा आर्थिकस्थिति एकदमै कमजोर थियो । फर्म दर्ता गर्न मसँग पैसा थिएन । व्यवसाय गर्नका लागि भतिजासँग २ हजार ५०० रुपैयाँ सापटी मगेकी थिए, सोही रकमबाट टीकापुरको सतिबाट बेतबाँस खरिद गरी व्यवसाय सुरु गरेकी हुँ’ उनले भनिनज्, ‘तर अहिले सोही व्यवसायबाट अर्थोपार्जन गरी आत्मनिर्भर बनेको छु, कसैसँग हात फैलाउनु परेको छैन, घरपरिवारको पूरै खर्च यही व्यवसायले धानेको छ ।’
सुरुका दिनमा बेतबाट निर्माण गरेका सामग्रीले बजार पाउन कठिन भए पनि अहिले भने यसको माग बढ्दै गएको उनले सुनाइन् । यही उद्यमबाट छोराछारीलाई धनगढीको राम्रो बोर्डिङ स्कुलमा पढाइरहेको उनले बताइन् । उनले बेतबाट ह्याङगर, फूलदानी, पिर्का, झुलालगायतका सामग्रीको उत्पादन र बिक्री गर्दै आएकी छिन् ।

‘धनगढी सुदूरपश्चिम प्रदेशकै व्यापारिक केन्द्र हो, जहाँ कैलाली, कञ्चनपुरलगायत प्रदेशका पहाडी जिल्लाका मानिस आवतजावत गर्ने गर्दछन । व्यावसायिक तथा घरायसी प्रयोजनका लागि उनीहरुले आफ्नो पसलबाट बेतका सामग्री खरिद गरी लाने गरेका छन’, चौधरीले भनिन । उनले प्रति ह्याङ्गर २ हजार ५००, फूलदानी ४००, कुर्सी ३ हजार, पिर्का ३०० रुपैयाँमा बिक्री गर्दै आएकी छिन् ।

बेतबाँसका विभिन्न सामग्री बेचेर मासिक ७० हजार रुपैयाँ बराबरको कारोबार हुने गरेको उनको भनाइ छ । जसमध्ये ३५ देखि ४० प्रतिशत जति फाइदा हुने गरेको उनले बताइन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal