Skip to content
Prabhu

काल्सबर्गलाई सेयर बेचेर १ खर्ब बुझ्न लागेका सीपी खेतान जसको दाइसँग छैन बोलचाल

काठमाडौं । काल्सबर्ग ग्रुपसँग नेपाल र भारतको साझेदारीलाइ अन्त्य गर्दै करिब १ खर्ब नेपाली रुपैयाँ सीपी खेतानले पाउने भएका छन् ।

खेतान समूहको परिवारको सदस्य भएपनि सीपीको बारेमा सार्वजनिक जानकारी खासै छैन । सीपीले व्यवसायीक रुपमा आफुलाई सिंगापुर केन्द्रीत भएर व्यवसाय गर्न लागेको ३० वर्षभन्दा बढी भइसकेको छ ।

३० वर्षदेखि सिंगापुरमा बस्दै आएका सीपी गैरआवासीय नेपाली हुन् । नेपालको पुरानो व्यवसायी घराना खेतान ग्रुपका सदस्य रहेका सीपी मोहनगोपाल खेतानका कान्छा छोरा हुन् ।

नेपालमा खेतान ग्रुपको व्यवसाय शुरु भएको १७० वर्ष भइसकेको छ । खाद्यान्य र कपडाको कारोबार गर्न किसुनराम खेतान नेपाल आएका थिए । त्यसपछि व्यवसायलाई किसुनरामका छोरा पूर्णमल, नाति बिहारीलाल, पनातिहरू मोहनगोपाल र हरिले अगाडि बढाए । अहिले राजेन्द्र,चन्द्रप्रकाश(सिपी) र प्रेमप्रकाश(पीपी)ले व्यवसाय अगाडि बढाएका छन् ।

अहिले राजेन्द्रको लगानी लक्ष्मी बैंक,हिमालयन एभरेष्ट इन्स्योरेन्स,हिमालयन लाइफ इन्स्योरेन्समा छ । हिमालयन बैंकमा पीपीको सेयर छ भने नेपाल बाहिर बसेर सीपीले व्यवसाय गर्छन् । काल्सबर्ग अन्तर्गत नेपाल र भारतको साझेदारीमा रहेको व्यवसायलाई अन्त्य गर्दै ७४ करोड ४० लाख अमेरिकी डलर करिब नेपाली १ खर्ब रुपैयाँ सीपीले पाउने भएका हुन् ।

सीपीलाई नजिकबाट चिन्ने एक नेपाली व्यवसायीले अहिलेसम्म नेपाली व्यवसायीले गरेको लगानीबाट पाएको सबैभन्दा ठूलो डिल भएको बताउँछन् ।

“नेपालबाट उठेर नेपाली व्यवसायीमा सबैभन्दा बढी नगद भएको व्यवसायीमा सीपी देखिएका छन्,”ती व्यवसायीले भने,“३० वर्षदेखि सिंगापुरमा बस्दै आएका सीपीको व्यवसाय अब उनका सन्तानले अगाडि बढाउँछन् ।”

सीपीलाई चिन्ने व्यवसायीहरुका अनुसार अहिले पनि सीपी नेपाली पासपोर्टमा नै विदेशमा यात्रा गर्छन् । सिंगापुरमा उनले पाएको स्थायी बसोबासको अनुमति पत्र मात्र भएको उनलाई चिन्ने व्यवसायीले बताए ।

“सीपीमा युवा अवस्था देखि नै नेपालको बजारमा मात्र रमाउन नसक्ने गुण थियो,”उनीसँग नजिकको सम्बन्धमा रहेका अर्का एक व्यवसायीले भने,“त्यही उडानमा उसले काल्सबर्गसँग नेपालमा मात्र नभएर भारतमा समेत साझेदारी गर्न सफल भयो, अहिले नेपाली व्यवसायीले नपाएको सबैभन्दा राम्रो डिल पायो।”

खेतानका लगानी रहेको लक्ष्मी बैंक तथा अन्य कम्पनीमा काम गरेका एक पूर्व कर्मचारीका अनुसार राजेन्द्र पिआरमा केन्द्रीत भएपनि सीपीको स्वभाव भित्र बसेर काम गर्ने थियो । भित्र बसेर शक्तिकेन्द्रमा नेटवर्क बढाउन सक्ने सीपीको खुबीको कारण भारतमा बियर कम्पनीको लाइसेन्स लिएर काल्सबर्गसँग साझेदारी गर्न सफल भएका थिए ।

काल्सबर्ग ग्रुपलाई नेपालमा हिमालयन शमशेर राणाले भित्राएका थिए । त्यसपछि राजेन्द्र र सीपीका बुवा मोहनगोपाल खेतानको काल्सबर्गमा प्रवेश भएको हो । अहिले नेपाली बियर बजारमा काल्सबर्ग समूहको लगानी रहेको गोर्खा ब्रुअरीको ६० प्रतिशत हिस्सा रहेको छ ।

३३.३३ प्रतिशत सेयर हिस्सा लिएर सीपी खेतानले काल्सबर्गसँग नेपाल र भारतको व्यवसायमा साझेदारी गरेका थिए । मोहनगोपाल व्यवसाय सक्रिय हुँदा नै सीपी सिंगापुर बस्न थालिसकेका थिए। मोहनगोपाल बिरामी भएको बेला सिंगापुरमा नै उपचार समेत भएको थियो ।

१ खर्ब रुपैयाँ काल्सबर्गबाट सेयर बेचेका सीपीको आफ्नो दाई राजेन्द्र खेतानसँग भने बोलचाल रहेको छैन । राजेन्द्रले आफू निकटका व्यवसायीसँग अनौपचारिक कुराकानीमा भाईसँग बोलचाल नभएको बताउने गरेका छन् ।

सन् २०२४ भित्रमा सेयर नामसारीको प्रक्रिया सकिने काल्सबर्गले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। नयाँ डिल अनुसार भारतको व्यवसायमा शतप्रतिशत स्वामित्व काल्सबर्गको हुने छ भने नेपालको व्यवसायमा ९९.९४ प्रतिशत स्वामित्व काल्सबर्गसँग हुने छ ।

भारतीय बजारमा १७ प्रतिशत हिस्सा काल्सबर्गको रहेको छ । काल्सबर्गसँगको साझेदारीलाई अन्त्य गरेसँगै नेपालमा पनि उनको लगानी अब सीमित क्षेत्रमा मात्र हुने भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal