Skip to content
Prabhu

४७ करोडमा बन्ने रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास

कास्की । यहाँको रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी र गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले संयुक्त रुपमा बिहीबार रूपा १ र ७ मा पर्ने उक्त चक्रपथको दोस्रो खण्डको शिलान्यास गरेका हुन् ।

सङ्घ र प्रदेश सरकारले बराबर आर्थिक भार व्यहोर्ने गरी (समपूरक योजना) रु. ४७ करोड १८ लाख ९१ हजार लागतमा ३० महिनामा १६ दशमलव १२९ किलोमिटर दूरीको सडक निर्माण हुने भएको छ ।

चक्रपथको शिलान्यास गर्दै पूर्वमुख्यमन्त्री अधिकारीले प्रदेश सरकारले यो सडक निर्माणमा प्राथमिकता दिएको र जसका कारण प्रदेश संरचनाको आवश्यकता पुष्टि भएको बताए । प्रदेश सरकारकै सहयोगमा आवश्यकता हेरी गाउँगाउँमा मोटरबाटो पुगेको उनले दाबी गरे ।

गाउँमा सडक पूर्वाधार पुग्ने तर मानिस सहर झर्ने परिस्थिति बन्नु दुःखद भएको टिप्पणी गर्दै उनले रूपा चक्रपथ बनेपछि गाउँका उत्पादनलाई बजारसम्म पुर्याउन सहज हुने विश्वास व्यक्त गरे । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले चक्रपथ लगायतका विकास निर्माणमा प्रदेश सरकारको सहयोग रहने प्रतिबद्धता जनाए । सडक निर्माणमा ढिलाइ नगर्न ठेकेदार कम्पनीलाई उनले निर्देशन दिए ।

काम गर्ने क्रममा निर्माण व्यवसायीलाई कुनै समस्या भए प्रदेश सरकारले समाधान गर्ने र निर्माणमा बजेट अभाव हुन नदिने मन्त्री केसीको भनाइ थियो । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले सडक निर्माणपछि लमजुङ, तनहुँ र कास्कीका सर्वसाधारणका लागि आवागमनमा सहज हुने विश्वास व्यक्त गरे।

आगामी आर्थिक वर्षमा चक्रपथको बाँकी ३५ किलोमिटर सडकलाई बजेट विनियोजन गरिदिन प्रदेश सरकारलाई अध्यक्ष ओझाले आग्रह गरे । निर्माण कम्पनीका प्रतिनिधि भीमकुमार श्रेष्ठले काम गर्ने क्रममा स्थानीयस्तरबाट समस्या नभए समयभन्दा अघि काम सक्ने प्रतिबद्धता जनाए।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal