Skip to content

लगानी सम्मेलनको ड्रिम प्रोजेक्ट ‘रारा रिसोर्ट’ : निर्माणका लागि आईईई स्वीकृति, २ अर्ब लगानी

काठमाडौं । सरकारले आयोजना गरेको लगानी सम्मेलनको समयमा सम्झौता भएको नेपालकै ड्रिम प्रोजेक्ट रारा रिसोर्ट निर्माण प्रक्रिया अघि बढेको छ । अष्ट्रेलियन लगानीमा मुगुको रारा ताल क्षेत्रमा निर्माण हुन लागेको सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि नेपाल सरकारले प्रारम्भिक अध्ययन अनुमति (आईईई) अनुमति दिएसँगै निर्माण प्रक्रिया अघि बढेको हो ।

उक्त रिसोर्ट निर्माणका लागि पर्यटन विभागले आजै मात्र स्वीकृति प्रदान गरेको हो । विभागले रारा क्षेत्रमा १९ वटा भवनमा ६२ कोठा र ९८ शैथ्या क्षमता रहने गरी लक्जरी रिसोर्ट निर्माणका लागि आईईई अनुमति प्रदान गरेको हो ।

अष्ट्रेलियाको एक्सपर्ट ग्र्रूप र नेपालको रारा होल्डिङ्स रिसोर्ट प्रालिको संयुक्त लगानीमा बन्न लागेको उक्त होटलको लागत करिव २ अर्ब रुपैयाँ रहनेछ । अष्ट्रेलियाका एक्सपर्ट ग्ररुपको मूख्य लगानी रहने उक्त रिसोर्टमा नेपाली साझेदारका रुपमा रारा होल्डिङ्सका तर्फबाट अभिषेकविक्रम शाहले नेतृत्व गर्नेछन् ।

उक्त रिसोर्ट मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्न लागेको हो । डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार भएको संचालक शाहले बताए ।

‘भर्खरै मात्र पर्यटन विभागले रिसोर्ट निर्माणका लागि आईईई स्वीकृति प्रदान गरेको छ,’ शाहले भने, ‘अब केही समयभित्रै अन्य थप प्रक्रिया पुरा गरी निर्माण चरणमा प्रवेश गर्नेछौं ।’ साथै उक्त रिसोर्ट निर्माणसँगै रारा क्षेत्र विकासको लागि कोशेढुंगा सावित हुने स्थानीय सरोकारवालाहरु बताउँछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T