Skip to content

‘स्थानीयका समस्या समाधान गर्दै नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढाइने छ’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा स्थानीय बासिन्दाका समस्या समाधान गरेर औद्योगिक क्षेत्रको काम अगाडि बढाइने बताएका छन् ।

बाँकेका जनप्रतिनिधि र स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग मन्त्रालयमा आज भएको छलफलमा उनले स्थानीय बस्तीको जग्गा विवाद छिट्टै समस्या समाधान गरेर औद्योगिक क्षेत्रको समस्या समाधान गरिने बताए।

अर्घाखाँची सिमेन्ट
Hyundai

औद्योगिक क्षेत्र सञ्चालनका छुट्याइएको तीन सय ३८ बिघा क्षेत्रफल जग्गामध्ये ५५ दशमलव छ बिघा जग्गामा बस्ती रहेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा रहेको जग्गामा २०२८ सालदेखि बस्ती रहेकाले बस्तीबाहेकको जग्गामा चाँडै औद्योगिक क्षेत्रको काम अगाडि बढाउन प्रतिनिधिमण्डलले मन्त्री भण्डारीसमक्ष माग गरेको छ ।

प्रतिनिधिहरूले स्थानीयको भोगचलनमा रहेको जग्गा स्थानीयकै नाममा ल्याउने पहलका लागि मन्त्री भण्डारीलाई आग्रह गरेका थिए । बस्ती क्षेत्रमा सडक, बत्ती, पानी, खेलमैदान र विद्यालयलगायतका पूर्वाधारको निर्माण गरिएकाले अन्यत्र सार्दा स्थानीयलाई मर्का पर्ने उनीहरूको भनाइ थियो ।

मन्त्री भण्डारीले बस्तीलाई असर नगर्ने गरी औद्योगिक क्षेत्र निर्माण कार्यमा सघाउन प्रतिनिधिमण्डललाई आग्रह गरे । ‘बस्ती उठाउने हाम्रो मनसाय छैन, बस्तीबाहेकको जग्गामा काम गर्न सहयोग गर्नुस्, जग्गाको स्वामित्वको कुरा उद्योग मन्त्रालयले चाहेर मात्र नहुने भएकाले भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयसँग आवश्यक समन्वय तथा सहजीकरण गर्न उद्योग मन्त्रालय प्रतिबद्ध छ’, उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीलाई यो विषयमा जानकारी नै छ, उनले दिएको निर्देशनबमोजिम त्यहाँ बस्तीको समस्या समाधानमा लाग्छौँ ।’

टोलीमा प्रतिनिधिसभा सदस्य दीपा शर्मा, आशा विक, लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्री, बादशाह कुर्मी, गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, नेपाली कांग्रेसका गाउँपालिका सभापति देवबहादुर केसी, नेकपा (एमाले)का गाउँपालिका अध्यक्ष मनबहादुर खड्का, रास्वपाका प्रेमबहादुर खड्कालगायत सहभागी थिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्