Skip to content
Prabhu

मराङमा ३६५ मिटर लामो झोलुङ्गे पुल निर्माण

म्याग्दी । धौलागिरि गाउँपालिका–६ मराङमा ३ सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कास्की पोखराले मराङखोलामाथि घाइरीबोट र खाउरीबाङ जोड्ने पुल निर्माण सुरु गरेको हो । अठार महिनामा पुल निर्माण सम्पन्न गर्ने लक्ष्यसहित गत असारमा सम्पन्न गर्नेगरी निर्माण कम्पनीले २ करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

धौलागिरि गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीले ठेकेदार कम्पनीले पुुलको दुईतर्फ फाउण्डेशन तयार पार्ने काम थालेको जानकारी दिए । यस पुलबाट धवलागिरि गाउँपालिका–६ का साथै वडा नं ५ मल्कवाङ र मालिका गाउँपालिका–७ बिमका बासिन्दा लाभान्वित हुने उहाँले बताए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

मराङमा रहेको वडा कार्यालय, स्वास्थ्य चौकी र जनविकास माविमा पुग्नका लागि अर्बाङ, घण्टीवाङका बासिन्दालाई यात्राअवधि छोटिनेछ । हाल अर्वाङ, घण्टीवाङ, रिखका बासिन्दालाई मराङबेंसीमा झरेर वडा कार्यालय, स्वास्थ्य चौकी, माध्यमिक विद्यालय भएको ठाउँमा पुग्न करिब एक घण्टा पैदलयात्रा गर्नुपर्छ । पुल बनेपछि एक घण्टाको यात्राअवधि १५ मिनेटमा छोटिने अपेक्षा गरिएको छ ।

यसअघि म्याग्दीमा तीन सय मिटरभन्दा लामा चारवटा झोलुुङ्गे पुल निर्माण भएको थियो । रघुगङ्गा गाउँपालिका–१ बेग र बादुक जोड्ने बेगखोलामा तीन सय ६५ दशमलव ८० मिटर, मालिका गाउँपालिका–७ बिमवाङ र धौलागिरि–६ रिख जोड्ने तीन सय ५० मिटर र बेनी–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले जोड्ने तीन सय ८८ मिटर र अन्नपूर्ण गाउँपालिका–५ शिख र किन्दु जोड्ने तीन सय ४४ मिटर लामो पुल निर्माण भइसकेका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्