काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा २ खर्ब ३३ अर्ब भन्दा माथि पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा चालु आवको कात्तिक मसान्तसम्ममा २ खर्ब ३३ अर्ब ३८ करोड ८७ लाख २९ हजार ६०० रुपैयाँ पुगेको हो ।
उक्त निष्क्रिय कर्जा २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहित ५४ वटा संस्थाहरूको पहिलो चार महिनाको हो । कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ५२ खर्ब ८० अर्ब २८ करोड ८० लाख रुपैयाँ छ । जसमध्ये ४.४२ प्रतिशत निष्क्रिय कर्जा रहेको देखिएको हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंक तथा वित्तीय संस्थाहरुमा ५१ अर्ब २४ करोड ९६ लाख ७१ हजार ४०० रुपैयाँले निष्क्रिय कर्जा बढेको छ ।
गत वर्ष कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ४९ खर्ब ७६ अर्ब ४७ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा ३.६६ प्रतिशत अर्थात् १ खर्ब ८२ अर्ब ३९ करोड ५८ हजार २०० रुपैयाँ निष्क्रिय कर्जा रहेको थियो । कुनै पनि व्यवसाय गर्ने भनेर ऋण लिने व्यक्ति तथा संस्थाले समयमा तिर्न नसकि भाका नाघेको कर्जालाई निष्क्रिय कर्जा भनिन्छ ।
राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्ममा वाणिज्य बैंकहरूले ४६ खर्ब ७० अर्ब ६३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा त्यसको ४.२८ प्रतिशत अर्थात् १ खर्ब ९९ अर्ब ९० करोड ३२ लाख ६३ हजार ६०० रुपैयाँ निष्क्रिय कर्जा छ । जुन एक वर्ष अघिको तुलनामा ४१ अर्ब ५ करोड ८५ लाख ७० हजार ६०० रुपैयाँले बढी हो । गत वर्ष कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूले ४४ खर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा ३.६१ प्रतिशत अर्थात् १ खर्ब ५८ अर्ब ८४ करोड ९६ लाख ९३ हजार रुपैयाँ निष्क्रिय कर्जा थियो ।
विकास बैंकहरूले भने गत कात्तिक मसान्तसम्म ४ खर्ब ६७ अर्ब ६३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा ४.३७ प्रतिशत अर्थात् २२ अर्ब १८ करोड ३७ लाख ३६ हजार ९०० रुपैयाँ निष्क्रिय कर्जा थियो । जुन एक वर्षअघिको तुलनामा ६ अर्ब ७९ करोड ५७ लाख ८३ हजार रुपैयाँले बढी हो । गत वर्ष कात्तिक मसान्तसम्म विकास बैंकहरूले ४ खर्ब ८२ अर्ब ३८ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा त्यसको ३.१९ प्रतिशत अर्थात् १५ अर्ब ३८ करोड ७९ लाख ५३ हजार नौ सय रुपैयाँ निष्क्रिय कर्जा थियो ।
फाइनान्स कम्पनीहरूले गत कात्तिक मसान्तसम्म कुल १ खर्ब २ अर्ब १ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा १०.८४ प्रतिशतका दरले हुनआउने ११ अर्ब ५ करोड ८४ लाख २६ हजार रुपैयाँ निष्क्रिय कर्जा छ । जुन एक वर्ष अघिको तुलनामा ३ अर्ब १९ करोड ३४ लाख ७१ हजार ८०० रुपैयाँ बढी हो । गत वर्ष कात्तिक मसान्तसम्म फाइनान्स कम्पनीहरूले ९३ अर्ब ९६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा त्यसको ८.३७ प्रतिशत अर्थात् ७ अर्ब ८६ करोड ४९ लाख ५४ हजार २०० रुपैयाँ निष्क्रिय कर्जा थियो ।






प्रतिक्रिया दिनुहोस्