काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी मन्त्रालय मातहतका निकायहरुलाई हालसम्मको प्रगति विवरण पेस गर्न निर्देशन दिएका छन् ।
आज मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूह (एसएमटी)को बैठकमा मन्त्री यादवले खानेपानीका क्षेत्रमा हालसम्म भएका कामका प्रगति विवरण पेस गर्न निर्देशन दिएका हुन् । ‘के कति प्रगति भएका छन् ? कति काम सम्पन्न हुन बाँकी छन्, लिखित रुपमा प्रतिवेदन पेस गर्नुहोला । त्यसैका आधारमा अन्य काम अगाडि बढाउन थप सहज होस’, उनले भने ।
मन्त्री यादवले मन्त्रालय मातहतका निकायद्वारा सञ्चालित कतिपय आयोजना समयमा सम्पन्न नभएकाले त्यसको कारण पेस गर्नसमेत निर्देशन दिए । मातहतका निकायले सञ्चालन गरिरहेका कामबारे नियमित जानकारी लिन प्रत्येक महिना एसएमटीको बैठक राख्नसमेत उनले निर्देशन दिएका छन् ।
बैठकमा मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्यसहित खानेपानी तथा ढल व्यवस्थापन विभाग, काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी), काठमाडौं खानेपानी उपत्यका लिमिटेड (केयुकेएल), मेलम्ची खानेपानी विकास समिति, खानेपानी संस्थान, सहलगानी बोर्डका प्रमुख एवं पदाधिकारीहरुले आफ्नो कार्यालयका कामबारे जानकारी गराएका थिए ।






प्रतिक्रिया दिनुहोस्