Skip to content

स्रोतमा मुठ्ठी बाँधेर वित्तीय संघीयताको परिकल्पना साकार हुँदैन

nabil bank

वित्तीय संघीयताले तहगत सरकारको आर्थिक निर्णयसँग सरोकार राख्ने गर्छ । बृहत् अर्थमा वित्तीय संघीयता भनेको सरकारको वित्तीय सशक्तीकरणका माध्यमबाट हुने आमनागरिकको आर्थिक सशक्तीकरण पनि हो । वित्तीय संघीयताले राजस्व स्रोत उठाउने, उठेको राजस्व स्रोत खर्च गर्ने र त्यससम्बन्धी प्रशासन तथा नियमन गर्नेजस्ता वित्तीय शक्ति र जिम्मेवारीको दुई वा दुुईभन्दा बढी तहका सरकारबीच बाँडफाँट गर्छ ।
नेपालको सन्दर्भमा वित्तीय शक्ति र जिम्मेवारीे नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच बाँडफाँट गरी आमनागरिकको आर्थिक सशक्तीकरणलाई वित्तीय संघीयता भनेर बुझ्नुपर्छ । नेपालको संविधान, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ ले वित्तीय संघीयता व्यवस्थापनका अधिकांश विषयलाई संरचनागत रूपमा व्यवस्थापन गरेको छ । ( नेपालमा वित्तीय संघीयता अवधारणा र अभ्यास, नेपाल सरकार २०७८)

संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार प्रत्येक वर्ष आगामी वर्षको बजेट जेठ १५ गते केन्द्रले, असार १ गते प्रदेश र असार १० गतेभित्र स्थानीय तहले ल्याइसक्नुपर्छ । संघ र प्रदेश सरकारले दिने समानीकरण अनुदान बजेटमै तोकेको हुन्छ । पालिकाहरूले पनि त्यसैअनुसार बजेटमा समावेश गर्छन् । कार्यक्रम पनि आइसकेको हुन्छ । तर, पछि अनुदान रकम दिँदा घटाएर वा काटेर पठाउने गरिन्छ । यसले योजना कार्यान्वयन गर्न पैसा नपुग्दा पालिकाहरू ठुलो समस्यामा पर्ने गरेका छन् ।

बजेट, नीति तथा कार्यक्रम पहिल्यै बनाउनुको उद्देश्य कार्यक्रमहरू नजुधोस् भनेर हो । संघले गर्ने के–के हो ? प्रदेशले गर्नुपर्ने के–के हो ? स्थानीय सरकारले के–के गर्ने हो व्यवहारिक रूपमा स्पष्ट छैन । ५० लाखको योजना मात्रै पठाउनुपर्ने केन्द्र सरकारले दुई लाखको योजना पनि पठाउँछ । प्रदेशले त्यही गर्छ । सामान्यतः प्रदेश सरकारले २५ लाखभन्दा तलका योजना स्थानीय तहमा नपठाउनुपर्ने हो तर, ५ लाख, २ लाख, डेढ लाखसम्मका योजना पठाउँछ । अझ एउटै विषयमा विभिन्न योजना पठाउने गर्छ । यसले प्राथमिकता के हो भन्ने प्रश्न उब्जिन्छ ? समन्वय, सहकार्य र सहअस्तित्वको कतै तालमेल छैन । प्रदेशले आफ्नै तालले बजेट, कार्यक्रम, नीति बनाउँछ । स्थानीय तहलाई रद्दीको टोकरीमा फालिदिन्छ । केन्द्रले त्यही हिसाबले काम गर्छ । पालिकाहरूले आफ्नो प्राथमिकता पहिचान गरेका हुन्छन् । तर, संघ र प्रदेशलाई योजनाको प्राथमिकतासँगै कुनै मतलब छैन । वास्तवमा स्थानीय आयोजनाहरूको प्राथमिकीकरण स्थानीय सरकारले नै गर्ने हो । आमजनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने भएकाले स्थानीय सरकारले नै विकासका कामको प्रभावकारी कार्यान्वयन गर्न सक्छ ।

चालु वर्षको एउटा उदाहरण हेरौं, धनगढीमा साढे ६ करोड रुपैयाँका २३ वटा योजना आयो । तर, पालिकाको प्राथमिकतामा रहेका योजना निकै कम थिए । पालिकाको प्राथमिकतामा परेका योजनामा ‘म्याचिङ फन्ड’ हाल्दा स्थानीय सरकारलाई पनि आनन्द आउँछ । पालिकाको प्राथमिकताभन्दा नेता, मन्त्रीको प्राथमिकता र राजनीतिक पार्टीको पहुँचका मान्छेको प्राथमिकताको योजना आउँछ । यस्तो अवस्थामा सिफारिस नदिउँ भने धनगढीमै बन्न लागेको हुन्छ, सार्वसाधारणले आक्रमण (पब्लिकले अट्याक) गर्छन् ।

बनाउँ भन्दा प्राथमिकता भित्रको योजना होइन । यस्ता समस्याले नतिजा देखिएन । धनगढीको भागमा एउटा पुल परेको छ भने त्यो कहाँ बनाउने भन्ने औचित्य पुष्टि गर्न सक्नुुपर्छ । त्यसका लागि समय आवश्यक हुन्छ । सम्बन्धित ठाउँमा पुल बनाउने योजना किन छानिएको भन्ने कारण दिनुपर्दैन ? दिनमा कति चारपांग्रे, दुईपांग्रे, भारी सवारीसाधन आवतजावत गर्छन् ? कति मान्छेले प्रयोग गर्छन् ? भविष्यमा सम्बन्धित क्षेत्रको सम्भावना कस्तो छ भन्नेजस्ता विषयमा पालिकाले औचित्य गर्नुपर्छ । त्यो पालिकाको दायित्व पनि हो । तर, पालिकाकोे चौथो प्राथमिकतामा समेत नरहेका योजनाहरू संघ र प्रदेशबाट आउँदा जुन किसिमको प्रगति देखिनुपर्ने हो, त्यो देखिन पाएको छैन । राजस्व बाँडफाँटमा मात्रै होइन, योजना वितरणमा पनि समस्या छ । काम बाँडफाँटको तालमेल कतै मिलेको छैन । त्यसकारण जनतामा निराशा बढेको छ ।

त्यसो त धनगढीले नीतिगत निर्णय गरेर यस्ता कार्यक्रम चलाउन बन्द गरेको छ । संघ र प्रदेशबाट आउने अधिकांश कार्यक्रम उपभोक्ता समितिमार्फत गरिने हुन्छन् । पछिल्लो समय उपभोक्ता समिति भ्रष्टाचार सिकाउने पाठशाला बन्दै गएको छ । उपभोक्ता समितिको नाममा असल नागरिक होइन, भ्रष्टाचारी जनता बनाइरहेको स्थिति छ । अहिलेको व्यवस्थाले कार्यकर्तासम्म बजेट कसरी पठाउने भन्नेमा जोड दिएको छ । स–सानो टुक्रा बनाएर उपभोक्ता समितिलाई योजना कार्यान्वयन गर्न दिने परिपाटी विकासभन्दा बढी कार्यकर्ता पोस्न सक्रिय भइरहेको छ । उपभोक्ता समिति भनेको गाउँको मानिस सबै लागेर श्रमदान गर्छन् भने ठीकै हो, गाउँको पैसा गाउँमै जान्छ, केही रोजगारी सिर्जना हुन्छ । तर, त्यही समिति सरकारको पैसा मिलाएर खान प्रयोग हुुन्छ भने त्यसले मुलुुकको विकासमा कहाँनिर सहयोग गर्ला ? स्थानीय सरकारले खेपेको सबैभन्दा ठुलो समस्या भनेको संघीय योजना, प्रादेशिक योजना पालिकाको प्राथमिकीकरणअनुसार छनोट हुँदैन । स्थानीय तहलाई पैसासँगै योजना अभाव पनि छ । स्थानीय तहले पुल बनाउन सक्दैन, ठुला–ठुला योजना संघ र प्रदेशले नै बनाउने हो तर, प्राथमिकीकरण पालिकाले गर्न पाउनुुपर्छ भन्ने हो ।

राजस्व बाँडफाँडमार्फत मालपोतबाट रजिस्ट्रेसनको पैसा ढिलो भए पनि आउँछ, आइरहेको छ । राजस्व वाँडफाँडमा वनको रोयल्टी स्थानीय तहले पनि पाउने व्यवस्था छ । तर, धनगढी उपमहानगरपालिकाले अहिलेसम्म वनको रोयल्टी पाउन सकेको छैन भन्नलाई मुलुुक संघीयतामा गएको भनिए पनि यथार्थमा संघीयता लागु भएको छैन । सबै अधिकार केन्द्रमै लगेर राखिएको छ । संघमा अधिकार चलाएकाहरूले छोड्न नचाहने, दिन नचाहने अवस्था छ । यद्यपि अधिकांश विभाग, कार्यालय स्थानीय सरकारअन्तर्गत ल्याएर फालिएको छ । माध्यामिक तहसम्मको शिक्षा, कृषि, स्वास्थ्य, सहकारी, उद्योग सबै क्षेत्र स्थानीय तहको अधिकारभित्र राखिएको छ । तर, स्रोत जति सबै संघमै मुठ्ठी कसेर राखिएको छ ।

काम जति सबै स्थानीय तहको टाउकोमा हालेपछि स्रोत पनि दिनुपर्छ । ७ वर्षको अभ्यासबाट पालिकाको मागअनुसार पैसा वा योजना दिएको खण्डमा मात्रै सही अर्थमा संघीयताको कार्यान्वयन हुुन्छ । तर, अवस्था त्यस्तो छैन, राजस्व बाँडफाँडको हिस्सेदारीसमेत मिलेको छैन । ६० प्रतिशत केन्द्रले राख्छ, ४० प्रतिशत प्रदेश र स्थानीय तहले बाँड्नुुपर्छ । यस्तो अवस्थामा स्थानीय तहले कति राजस्व पाउने र विकास निर्माणको काम अघि बढाउने ? यस्तो अवस्थामा ६० प्रतिशत संघीय बजेट स्थानीय तहको प्राथमिकीकरणमा सहभागी भइदिएन भने स्थानीय सरकारले केही गर्न सक्ने सम्भावना रहँदैन ।

आन्तरिक आय वृद्धि गर्न आर्थिक क्रियाकलाप बढ्नुपर्छ । धनगढी नगरपालिकामा तीनवटा (बेलादेवीपुर, उर्मा र फूलबारी) गाउँपालिका गाभेर उपमहानगर बनाइयो । भूगोल भयो २६१.७५ वर्ग किलोमिटर । गाउँपालिका पछि, नगरउन्मुख गाउँपालिका हुन्छ, त्यसपछि नगरपालिका बन्छ, अनि बल्ल उपमहानगरपालिका बनाउनुपर्ने हो । तर, धनगढीका हकमा त्यस्तो भएन । गाउँ नै गाउँ भएको क्षेत्र गाभेर क्षेत्रफल ठुलो बनाएर उपमहानगर बनाइयो । गाउँमा के हुन्छ र आम्दानी ? एउटा वडाबाट वर्षको पाँच लाख रुपैयाँजति आम्दानी हुन्छ । पाँचवटा वडा कमाउने छ, अरू १४ वडा खर्च गर्ने मात्रै छ । त्यहाँ बत्ती, पानी, ग्राभेल सडकजस्ता आधारभूत आवश्यकतासमेत पूर्ति भएको छैन । यस्ता ठाउँको विकासका लागि पूर्वाधारमा लगानी हुनुपर्ने हो तर, लगानी नहुँदा नगरवासी असन्तुष्ट हुुँदै गएका छन् । उपमहानगरवासी भन्नलाई भयो, सडकमा खाल्डो हुन्छ, नगरपालिकाले खाल्डोमा ग्राभेल हाल्न पाएको हुँदैन । नगरवासीले खाल्डोको फोटो खिचेर हामी त धनगढी उपमहानगरपालिकावासी भन्न लाज लाग्यो भनेर सामाजिक सञ्जालमा हाल्छन् । त्यसकारण राजनीतिक निर्णयमै त्रुटि देखिएको छ । बजारमा १० वटा पसल नभएको ठाउँ पनि नगरपालिका भनिएको छ । नगर भनेको त सहर हो, त्यसैले नगरको झल्को दिने केही त हुनुपर्छ नि ।

राजस्व तब सम्भव हुन्छ, जब विकास हुन्छ । विकास भएपछि व्यापार हुन्छ, पैसा आउँछ । गाउँमा कसरी आम्दानी हुन्छ । धनगढीमा पनि आन्तरिक आम्दानी बढाउने स्रोत कम छ, गाउँ धेरै छ । अधिकांश मानिस आ–आफ्नो घरमा बसेका छन्, घर बहाल कर उठ्ने कुरै भएन । राजस्वका लागि बजारीकरण हुनुपर्छ । आर्थिक क्रियाकलाप बढेपछि मानिसहरू आउँछन, डेरामा बस्ने, सटर बनाउने, भाडामा दिने हुन्छ । आन्तरिक राजस्व कार्यालयले स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने घरबहाल कर उठाइरहेको छ । नउठाउ भनेर पालिकाले झगडा गरेको छैन नि, नगरपालिकाको क्षेत्राधिकर पर्छ, उता जाउसम्म भन्न त सकिन्छ नि । तर, त्यति पनि गरेको पाइँदैन ।

धनगढीको बजेट २७ करोड रुपैयाँ पुगेको छ । यति बेजेटले के–के मात्र गर्न सकिएला ? शिक्षा, स्वास्थ्य, कृषि, सहकारी, उद्योग, महिला उत्थानको काम त्यही बजेटले गर्नुुपर्छ । टुक्रा–टुक्रा बाँड्दा त लाखमा आउँछ र त्यसको प्रभाव कहीँकतै देखिँदैन । कम्तिमा पालिकको कामसँग म्याचिङ हुने बजेट चाहिन्छ । बजेट बरु केन्द्रले नै बनाओस्, केन्द्रले नै बजेट देओस्, केन्द्रले नै टेन्डर गरोस् समस्या भएन तर, पालिकाको माग अनुसारको योजना हुनुुपर्छ । यसले मात्रै नतिजामुखी काम हुन सक्छ । पालिकको आवश्यकताअनुसार पैसा चलाउन दिएको स्थितिमा मात्र वास्तविक स्थानीयताको कदर हुुन्छ । तर, संघ र प्रदेशले आफ्नो योजना हालेर पठाउँछन् र काम गर भन्छन्, अहिलेको मुख्य समस्या नै यही हो । जसरी हुन्छ हामीले छनोट गरेको योजना कार्यान्वयनमा आउनुपर्छ । माथिबाट छनोट गरेर पठाउने अनि पछि सिफारिस माग्ने बाध्यात्मक स्थिति सिर्जना गर्न भएन । स्थानीय सरकार आफ्ना पालिकालाई आफ्नो प्राथमिकताअनुसार विकास गर्न चाहन्छ । त्यसैका लागि जनताले अमूल्य मत दिएर पालिकाको नेतृत्व गर्न पठाएका हुन् ।

(धनगढी उपमहानगरपालिका मेयर गोपी हमालको यो लेख नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को जर्नल अर्थचित्रबाट साभार गरिएको हो ।)

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi