काठमाडौं । अर्थतन्त्रलाई चलायमान बनाउने निर्माण क्षेत्रको वृद्धिदर अझै ऋणात्मक देखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मुल्यमा चालु आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा ०.२ प्रतिशतले मात्र वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ ।
गत आवको चौथो त्रैमासिकको तुलनामा चालु आवको प्रथम त्रैमासिकमा कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये छ ओटामा भएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन झिनो अङ्कले मात्र वृद्धि हुने अनुमान कार्यालयले गरेको छ ।
यद्यपी, विद्युत र सूचना तथा सञ्चार क्षेत्रमा भने उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ। मौसमी प्रभाव समायोजित त्रैमासिक वृद्धिलाई हेर्दा गत आर्थिक वर्ष (२०८०/८१) को चौथो त्रैमासिक (वैशाख, जेठ र असार) को तुलनामा चालु आर्थिक वर्ष (२०८१/८२) को प्रथम त्रैमासिक (साउन, भदौ र असोज) को प्रारम्भिक अनुमान अनुसार प्रस्तुत गरिएका कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये १२ ओटाको उत्पादन बढेको देखिन्छ भने छ ।
विद्युत तथा ग्याँस क्षेत्रमा सबैभन्दा बढी ८.५ प्रतिशत वृद्धि हुने र यो क्षेत्रलाई पछ्याउँदै सूचना तथा प्रविधि क्षेत्रको वृद्धिदर ७.७ प्रतिशत रहने अनुमान गरिएको छ। यो अवधिमा अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर नगण्य रूपमा ऋणात्मक (–०.८%) हुन पुगेको छ भने समग्र अर्थतन्त्रको वृद्धिदर ०.२ प्रतिशतमा सीमित हुने प्रारम्भिक अनुमान रहेको छ। ऋणात्मक वृद्धि हुने छ ओटा औद्योगिक क्षेत्रहरूमध्ये सबैभन्दा धेरै खानी तथा उत्खनन् क्षेत्रको ऋणात्मक वृद्धिदर (–१३.९%) र त्यसपछि व्यापार क्षेत्रको वृद्धिदर (–३.७%) रहेको तथ्यांक कार्यालयले जनाएको छ ।
चालु आ।व। २०८१र८२ को प्रथम त्रैमासिक र अघिल्लो आ।व। २०८०/८१ को प्रथम त्रैमासिक अवधिबीच क्षेत्रगत तुलनागर्दा अर्थतन्त्रका प्रस्तुत गरिएका कुल १८ ओटा औद्योगिक वर्गीकरणमध्ये १७ ओटा औद्योगिक क्षेत्रहरूको कुल मुल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको छ । जसमध्ये विद्युत तथा ग्याँससँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर २१.४५ रहेको छ भने यातायात तथा गोदाम क्षेत्र ६.७ प्रतिशत वृद्धिदर सहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ। यी औद्योगिक क्षेत्रलार्इ पछ्याउँदै आवास तथा भोजन सेवा क्षेत्रले ६.३ प्रतिशत वृद्धिदर कायम गरेको छ। त्यसैगरी, निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा विमा क्षेत्रको मुल्य अभिवृद्धि वृद्धिदर ५.७ प्रतिशत हुने अनुमान गरिएको छ। प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५.४ प्रतिशत र पेशागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर ५.१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।
अर्कोतर्फ, चालु आव २०८१/८२ को प्रथम त्रैमासिकमा निर्माणजन्य वस्तुको आयातमा आएको गिरावटका कारण निर्माण क्षेत्र झिनो अङ्कले संकुचनमा रहेको प्रारम्भिक अनुमान गरिएको छ।
अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मुल्य अभिवृद्धि वृद्धिदर तीन प्रतिशत हुने प्रारम्भिक अनुमान छ। धान लगायतका वर्षे वालीको उत्पादनमा वृद्धि हुनुका साथै तरकारी तथा नगदे वालीहरु र पशुपंक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मुल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको देखिन्छ। समयमा मलको उपलव्धता, उन्नत बीउको प्रयोग, तथा यथेष्ट मनसुनी वर्षा भएका कारण कृषिजन्य उत्पादनमा वृद्धि भएको हो। यद्यपी, वर्षायामको बाढी र पहिरोले पुर्याएको क्षतीका कारणले कृषि क्षेत्रको कुल मुल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन कार्यालयले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्