काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिमा चालु खाता १४० अर्ब रुपैयाँ भन्दा बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको बर्तमान वित्तीय तथा आर्थिक अबस्थाले चालु खाता १४० अर्ब ७१ करोड रुपैयाँले बचतमा रहेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१४१ अर्ब ३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.३ अर्ब ५० करोड रहेकोछ ।
अघिल्लो वर्षकोसोही अवधिमा यस्तो ट्रान्सफर रु.२ अर्ब ८७ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.६ अर्ब ३ करोड प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी आप्रवाह रु.३ अर्ब ९३ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२२५ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२१६ अर्ब ५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६७ करोडले बचतमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्