अबुधाबी । यूएईले विद्युत, पानी र भविष्य ऊर्जा क्षेत्रका लागि विश्वव्यापी नेतृत्व लिन तयारी जारी राख्ने यूएईको ऊर्जा तथा पूर्वाधार मन्त्रालय (एमइआइ) को सहायक उपसचिव अहमद अल काबीले बताएका छन् ।
अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइआरइएनए) द्वारा आयोजित उदीयमान अर्थतन्त्रमा ऊर्जा सङ्क्रमण मार्गहरूसम्बन्धी उच्चस्तरीय प्यानलमा उनको सहभागिताका क्रममा टिप्पणी आएको हो ।
उनले भने, ‘सुरुदेखि नै युएईले हाम्रो भविष्यको रक्षा गर्न सफा ऊर्जाको आवश्यकतालाई मान्यता दियो । हामीले यस परिवर्तनको वातावरणीय, सामाजिक र आर्थिक फाइदाहरू पनि देख्यौं र नवीकरणीय ऊर्जा परियोजनाहरूमा ठूलो लगानी गर्यौं । यसले हामीलाई स्वच्छ ऊर्जा सङ्क्रमणको नेतृत्व गर्ने ठूलो अवसर दियो ।’
अल काबीले सन् २०५० सम्ममा नेट–शून्य लक्ष्य तय गर्ने यस क्षेत्रमा पहिलो भएको बताए । ‘हामीले सन् २०३० सम्ममा १४.२ गिगावाट नवीकरणीय ऊर्जा क्षमतामा पुग्ने लक्ष्य राखेका छौं । हामीसँग विश्वका तीनवटा ठूला सौर्य प्लान्टहरू पनि छन् र थप परियोजनाहरू चलिरहेका छन् ।’
यूएई शान्तिपूर्ण रूपमा आणविक उर्जा प्रयोग गर्ने पहिलो अरब राष्ट्र पनि हो । उर्जा प्लान्टले देशको २५ प्रतिशत बिजुली कार्बन–मुक्त स्रोतबाट प्रदान गर्छ ।
प्रतिक्रिया दिनुहोस्