काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका शाखा अधिकृत गोपालप्रसाद भट्टराईलाई सम्मान गरेको छ ।
उक्त सम्मान समारोहमा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले भन्सार प्रशासन सुधार गर्दै व्यापार सहज बनाउनु आवश्यक रहेको बताए । भन्सार विभागको सिफारिसमा यो सम्मान गरिएको जनाइएको छ ।
उनले मूल्यांकन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार रूपान्तरण गर्नुपर्ने र कर निर्धारणको स्पष्टता बढाउन हर्मोनिक कोडको पुनरवलोकन आवश्यक रहेको बताए।
चेम्बरका पूर्वअध्यक्ष राजेन्द्र मल्लले भन्सार व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै अवैध व्यापार नियन्त्रण गर्न जोड दिए । वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले कारोबार मूल्यलाई प्राथमिकता दिँदा राजस्व संकलन वृद्धि गर्न सकिने धारणा राखे ।
अर्थसचिव रामप्रसाद घिमिरेले सरकार र निजी क्षेत्रको सहकार्यद्वारा नीति सुधारलाई प्रभावकारी बनाउनुपर्ने बताए । वर्तमान नीति तथा कानुनी चुनौती समाधान र व्यापारमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्