काठमाडौं । २०७८ सालको भदौ २ गते नेपालको सेयर बजारले सूचकांकमा रेकर्ड कायम गरेको थियो । नेप्से परिसूचक ३२२० अंकसम्म पुगेर कारोबार बन्दा हुँदा ३१९९.०३ बिन्दुमा आएको थियो। त्यसपछि सेयर बजारको बियरिस ट्रेण्डमा गयो ।
जुन अहिलेसम्म कायमै छ । पछिल्लो समय सेयर बजार बन्द हुँदा २६५७.७७ बिन्दुमा छ । पछिल्लोपटक सेयर बजार सूचक बढेको रेकर्ड २०८१ साउन ३१ मा हो । तर,२०७८ भदौको रेकर्ड ब्रेक भएको थियो ।
२०८१ साउ ३१ मा नेप्से परिसूचक ३०००.८१ बिन्दुमा थियो भने बजार पुँजीकरण ४७ खर्ब ६५ अर्बमा पुगेको थियो । २०७८ सालपछि नेप्सेमा कारोबार भएका कम्पनीहरूको विश्लेषण गर्दा सबैभन्दा बढी गुमाउनेमा वाणिज्य बैंकका लगानीकर्ता छन् । त्यो दिन वाणिज्य बैंक उपसमूहको सूचक २०८३.८४ बिन्दुमा थियो । पछिल्लो समय कारोबार बन्द हुँदा वाणिज्य बैंक उपसमूहको सूचक १३३४.२२ बिन्दुमा आएको छ ।
यसरी हेर्दा वाणिज्य बैंकमा २०७८ साल भदौ २ गते सेयर किन्नेले औसतमा करिब ३६ प्रतिशत आफ्नो लगानी नोक्सानीमा बसेका छन् । २०७८ सालको बुलपछि भने सबैभन्दा बढी लगानीकर्ताले होटल तथा पर्यटन क्षेत्रबाट कमाएका छन् । तथ्यांक हेर्दा करिब ८८ प्रतिशतले होटल तथा पर्यटन क्षेत्रको सूचक बढेको देखिन्छ ।
२०७८ साल भदौ २ गते सेयर बजार बुल हुँदा होटल तथा पर्यटन उपसमूहको सूचकांक ३६३०.४३ अंकमा थियो । पछिल्लो समय सेयर बजार घट्दा पनि सूचकांक ६८१५.७९ बिन्दुमा पुगेको छ । यो समूहमा बुलपछि सिटी होटल र कालिञ्चोक केवलकारले सार्वजनिक निष्कासन गरेर थपिएका छन् ।
नेपाल स्टक ब्रोक्रर एसोसिएसना अध्यक्ष सागर ढकाल बुलपछि नेप्सेमा होटल क्षेत्रको मात्र वृद्धि देखिएको बताउँछन् । ‘बुल हुने समयमा होटल क्षेत्रमा कोरोनाको असर थियो,’ उनले भने, ‘अहिले पर्यटन बढ्दा होटल क्षेत्रको व्यापार ठीकै भएको देखिन्छ, त्योबाहेक अरूको राम्रो छैन ।’ कम कम्पनी सूचीकृत भएको र नयाँ कम्पनी सिटी होटल र कालिञ्चोकको सेयर सप्लाई कम हुँदा यसको सूचकांक बढेको हो । सेयर बजारमा सबैभन्दा बढी हिस्सा रहेका वाणिज्य बैंकको वित्तीय विवरण २०७८ सालपछि खराब हुँदै गएको छ ।
पछिल्लो २ वर्षदेखि आधा दर्जन वाणिज्य बैंकले लाभांश दिन सकेका छैनन् । चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणले कतिपय वाणिज्य बैंकलाई आगामी वर्षसमेत लाभांश बाँड्नका लागि कठिन हुने देखिन्छ । बैंक तथा वित्तीय संस्था परिसंघ(सिबिफिन)का वरिष्ठ उपाध्यक्ष राजेश उपाध्याय लाभांशको हिसाबले वित्तीय क्षेत्र दबाबमा रहेको बताउँछन् ।
‘विगतमा वर्षमा लाभांश दिएजस्तो अबका केही वर्ष बैंक तथा वित्तीय क्षेत्रलाई बिग्रेको ऋणले समस्या पर्ने छ,’ उपाध्यायले भने, ‘ब्यालेन्ससिट बिग्रेपछि त्यसको स्वाभाविक असर दोस्रो बजारको सेयर मूल्यमा पर्छ ।’ खास गरेर वाणिज्य बैंकको सेयर आपूर्ति बढी भएको हुँदा बिग्रेका फाइनान्स कम्पनी जस्तो सेयर मूल्य कर्नरिङ गरेर बढाउन सम्भव पनि छैन ।
ब्रोक्रर एसोसिएसनका अध्यक्ष ढकाल २०७८ सालपछि सेयर बजारमा नयाँ कम्पनी नथपिएको नेप्से परिसूचक र बजार पुँजीकरण यात्रा धेरै नै तल हुने बताउँछन् । अहिले नेप्से सूचक २६५७ बिन्दुमा छ भने बजार पुँजीकरण ४४ खर्ब छ । नेप्से परिसूचक रेकर्ड कायम गरेको दिन बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब थियो ।
बजार पुँजीकरणको रेकर्ड भने गत साउन ३१ नेप्से परिसूचक ३ हजार बिन्दु हुँदा ४७ खर्बको भएको थियो । यो बीचमा नेप्सेमा ठूला कम्पनीमा हिमालयन रि इन्स्योरेन्ससहित पाँचवटा जीवन बीमा कम्पनीको सेयर थपिए ।
यस्तै जलविद्युत् कम्पनी लगायतको सेयर थपियो । सरकारी लगानीका कारण सर्वसाधारणकाा लागि न्यून सेयर भएको विशाल बजारले पनि बजार पुँजीकरणलाई बढाउनका लागि मद्दत गरेको छ ।
अहिले नेप्सेमा सबैभन्दा बढी बजार पुँजीकरण भएको कम्पनी विशाल बजार कम्पनी हो । जसको बजार पुँजीकरण २ खर्ब २७ अर्ब रहेको छ ।
प्रतिक्रिया दिनुहोस्