म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाँडाखेतमा विद्युत सबस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रशारण लाइन आयोजनामार्फत सवस्टेसनको पूर्वाधार निर्माणको काम सकेर उपकरण जडान थालिएको हो । म्याग्दी नदी र सहायक खोलाहरुमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय ग्रिडमा जोड्ने उद्देश्यले डाडाखेतमा सबस्टेसन निर्माण गरिएको हो ।
आयोजना प्रमुख रोशन अग्रवालले ८५ प्रतिशत भौतिक प्रगति भएको डाडाखेत सबस्टेसनको काम आगामी तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए । पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको उनले बताए । ५१ रोपनी क्षेत्रफलमा निर्माण भएको डाडाखेत सवस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गर्न थालिएको छ ।
डाडाखेतदेखि रघुगङ्ग गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाउँमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्वर ३१ मा २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद आगामी २०२५ को नोभेम्बर १६ सम्म थप भएको छ ।
‘समग्रमा ६० प्रतिशत भौतिक प्रगति भएको छ,’ आयोजना प्रमुख अग्रवालले भने, ‘राहुघाटमा कमजोर भूवनोट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाई र केही टावर निर्माण स्थलमा समुदायको बिवादका कारणले आयोजना निर्माण अवधी लम्बि एको हो ।’ एशसयाली विकास बैंकको ऋणमा सबस्टेसन र प्रशारण लाइन निर्माण आयोजना सञ्चालन भएको हो ।
राहुघाटको सबस्टेसन निर्माणले गति लियो
भूमिगत पानी र पहिरो प्रभावित राहुघाटमा सबस्टेसनको डिजाइनमा समस्या भएकाले ठेक्का सम्झौताको २७ महिनापछि गत जेठ महिनादेखि नेपाली सहायक ठेकेदार डिएल स्ट्रक्चरले काम थालेको थियो ।
२२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको फाउण्डेसन सकेर संरचना बनाउन थालिएको एनएलटीका आयोजना ब्यवस्थापक सुवासचन्द्र शर्माले बताए।
सबस्टेसनमा जडान गर्ने उपकरण आयात भइसकेको छ । भूमीगत पानी ब्यवस्थापन गर्ने संरचना बनाएर सबस्टेसनको काम थालिएको हो । हाल दैनिक एक सय जना मजदुरले काम गरिरहेका छन् । अम्बाङमा सव स्टेशन बनाउन पाँच वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो ।
१३२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइनको ८२ वटा टावर मध्य हालसम्म ५१ वटा निर्माण सकिएको र १० वटा निर्माणाधीन रहेका एनएलटीका व्यवस्थापक शर्माले बताए। उनका केही दिनमा प्रशारण लाइनमा तार तान्नका लागि भारतबाट प्राविधिक र मजदुरहरु आउँदैछन् ।
रघुगंगा गाउँपालिकाको वडा नम्बर ३, बेनी नगरपालिकाको ९, १०, मंगला गाउँपालिकाको वडा नम्बर १, मालिकाको वडा नम्बर ६ र ७ मा प्रशारण लाइनको टावर निर्माण स्थल हुन् । दुवै ठाउँमा यसअघिनै जग्गा ब्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाडाखेतमा गार्ड र कर्मचारी आवास गृह भवनसमेत निर्माण भएको छ ।
म्याग्दी नदीमा १ सय ७२.८ मेगावाट क्षमताको चारवटा जलबिद्युत आयोजना निर्माण शुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको राहुघाट मंगले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठूलोखोला र ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजना निर्माणाधिन छन् ।
५.५ मेगावाट क्षमताको बगरखोला, ४.७५ मेगावाटको स्यानोखोला, ४.९० मेगावाटको अपर ठुलोखोला र १५ मेगावाटको माथिल्लो ठुलोखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन् ।
तुदी पावरद्वारा निर्माणाधिन अपर राहुघाट र मंगले राहुघाट जलविद्युत आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रशारण लाइनमा विद्युत आपूर्ति गराउने तयारी गरेका छन् ।
तुदीले पिप्लेमा १३२ केभी प्रशारण लाइनमुनि र क्रसिङ हुने गरेर बनाएको टावर हटाउन डाडाखेत राहुघाट प्रशारण लाइन आयोजनाले ताकेता गरेको छ । डाडाखेत राहुघाट प्रशारण लाइनको ए ३ नम्बरको टावरलाई असर पर्ने गरेर तुदीले अस्थायी टावर बनाएको हो ।
प्रतिक्रिया दिनुहोस्