Skip to content

बंगलादेशमा सेना दिवस, साहित्यिक महोत्सव

काठमाडौं । बंगलादेशमा सेना दिवस एवं साहित्यिक महोत्सव आयोजना गरिएको छ । ढाकास्थित नेपाली दूतावासमा दुवै कार्यक्रम आयोजना गरिएका हुन् ।

नेपाली सेनाको २६२ औँ स्थापना दिवसको अवसरमा सोमबार साँझ दूतावास परिसरमा आयोजित स्वागत समारोहमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले सेना दिवसबाट नेपाल र नेपाली जनताप्रति नेपाली सेनाको अटल समर्पण, वफादारी र सेवा झल्कने बताए । उनले नेपाल र बंगलादेशबीचको सैन्य सहयोगलाई उजागर गर्दै त्यसबाट मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न योगदान पुग्ने विश्वास व्यक्त गरेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Hyundai

दूतावासका सैन्य सहचारी महासेनानी अञ्जनकेशर खत्रीले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको रक्षामा नेपाली सेनाको भूमिकाबारे चर्चा गर्दै नेपालको सामाजिक–आर्थिक विकासमा नेपाली सेनाको योगदानका साथै संयुक्त राष्ट्रसंघको आह्वानमा अन्तरराष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाले निर्वाह गरेको योगदानबारे जानकारी दिए । उक्त दूतावासका अनुसार समारोहका प्रमुख अतिथि, बंगलादेशका प्रधानसेनापति जनरल वाकर–उज–जमानले नेपाल र बंगलादेशका सशस्त्र बलबीचको मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गरे।

यसैबीच, दूतावासले मंगलबार दिउँसो बंगलादेश–नेपालमैत्री समाजसँगको सहकार्यमा साहित्यिक समारोह पनि आयोजना गर्यो । त्यस अवसरमा नेपाल र बंगलादेशबीचको सांस्कृतिक तथा भाषिक समानताका विविध पक्षलाई उजागर गर्दै स्रष्टाले आफ्ना रचना वाचन गरेका थिए । राजदूत भण्डारीले नेपाल र बंगलादेशबीचको सांस्कृतिक सम्बन्ध तथा जनता–जनताबीचको सम्पर्कलाई साहित्यिक आदानप्रदानका कार्यक्रमले अझ सुदृढ बनाउन सहयोग गर्ने बताए।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्