काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको उपाधिका लागि अहिले भारत र न्युजिल्यान्ड भिडिरहेका छन् । दुबइमा टस जितर पहिलो ब्याटिङ गरिरहेको न्युजिल्यान्डले ठोस सुरुवात गरेको छ । पहिलो पारप्लेमा न्युजिल्यान्डले १ विकेट गुमाएर ६९ रन बनाएको हो ।
उसका लागि रचिन रविन्द्रले ३७ रन बनाएर खेलिरहेका छन् भने विल योङले १५ रनको योगदान दिएर आउट भए । भारतका लागि वरुण चक्रवर्तीले एक विकेट लिए । एउटै समूहमा रहेका यी दुई टोली बीचको समूहचरणको खेलमा भने भारतले बाजी मारेको थियो । सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई र न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराउँदै उपाधि नजिक पुगेका थिए ।
आईसीसी प्रतियोगितामा यी दुई टोलीबीच हालसम्म १२ पटक भेट भएकोमा भारत र न्युजिल्यान्डले ६/६ खेल जितेका छन् । आईसीसी नकआउट प्रतिस्पर्धामा यी दुई टोलीबीच अहिलेसम्म ४ पटक भेट भएकोमा न्युजिल्यान्डले ३ खेल जितेको छ । न्युजिल्यान्डले सन् २००० को च्याम्पियन्स ट्रफी फाइनल, सन् २०१९ को विश्वकप सेमिफाइनल र सन् २०२१ को विश्व टेस्ट च्याम्पियन्स ट्रफी फाइनलमा भारतलाई हराएको छ । भारतले सन् २०२३ को विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको छ ।
प्रतिक्रिया दिनुहोस्