Skip to content

मूल्य वृद्धि ४.१६ प्रतिशत, कोशी प्रदेशको भने ६ प्रतिशत भन्दा बढी

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा मूल्य वृद्धि ४.१६ प्रतिशत रहेको देखिएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको पछिल्लो आर्थिक अवस्था अनुसार वार्षिक विन्दुगत रुपमा मुद्रास्फीति ४.१६ प्रतिशत रहेको हो ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.८० प्रतिशत, दाल तथा गेडागुडीको ९.०६ प्रतिशत, तरकारीको ७.५६ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.३६ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २.९८ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.९१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.३६ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.०८ प्रतिशत, यातायातको ५.०१ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१० प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.०७ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.७३ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.९६ प्रतिशतले बढेको छ । प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१५ प्रतिशत, मधेश प्रदेशको ३.९१ प्रतिशत, बागमती प्रदेशको ३.३५ प्रतिशत, गण्डकी प्रदेशको ३.४० प्रतिशत, लुम्बिनी प्रदेशको ४.१६ प्रतिशत, कर्णाली प्रदेशको ४.०५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.७१ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५३ प्रतिशत, तराईको ४.२५ प्रतिशत, पहाडको ४.११ प्रतिशत र हिमालको ५.२१ प्रतिशत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima