Skip to content
Prabhu

७ महिनामा साढे ८ अर्बको बीमा पोलिसी त्याग, किन बढ्दै छ बीमा सरेण्डर गर्नेको संख्या ?

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ७ महिनासम्ममा बीमा गराएका बिमितहरूले साढे ८ अर्बभन्दा बढी रुपैयाँमा बीमा पोलिसी सरेण्डर गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा ८ अर्ब ५९ करोड २ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा ६२ हजार ५ सय २३ वटा पोलिसी सरेण्डर भएका छन् ।

१४ वटा जीवन बीमा कम्पनीहरूले जारी गरेका कुल बीमालेखमध्ये ६२ हजार ५ सय २३ जना बीमितले पोलिसी त्याग गरेका हुन् । बीमा प्राधिकरणको तथ्यांकअनुसार हरेक महिना जसो बीमा पोलिसी सरेण्डर गर्नेको संख्या बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा सबैभन्दा धेरै पोलिसी सरेण्डर चालु आर्थिक वर्षको पहिलो महिना साउनमा भएको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो महिनामा १० हजार २९२ जनाले पोलिसी सरेण्डर गरेका थिए भने दोस्रो महिना भदौमा ९ हजार ४४९ जनाले पोलिसी त्याग गरेको देखिन्छ ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै, असोज महिनामा ८ हजार २ सय ५९ जनाले पोलिसी त्याग गरेका छन् । कात्तिक महिनामा ७ हजार ९ सय ८५ जना, मंसिर महिनामा ९ हजार ७५ जना, पुस महिनामा ९ हजार ३ सय ५४ जना र माघ महिनामा ८ हजार १०९ जनाले पोलिसी सरेण्डर गरेका छन् । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा गत आर्थिक वर्षको पूरै अवधिको तुलनामा आधाभन्दा बढी रकमको पोलिसी सरेण्डर भइसकेको छ । चालु आर्थिक वर्ष सकिने अझै ५ महिना बाँकी रहेको छ । औषतमा हरेक महिना १ अर्बभन्दा बढीको पोलिसी सरेण्डर भइरहेकाले चालु आर्थिक वर्षमो पछिल्लो पाँच वर्षको भन्दा बढी पोलिसी सरेण्डर हुने देखिन्छ । गत आर्थिक वर्षमा १४ अर्ब ५० करोड १२ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको थियो । गत आर्थिक वर्षमा १ लाख १३ हजार ९७६ पोलिसी सरेण्डर भएको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा १३ अर्ब ३४ करोड ३३ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको थियो भने आर्थिक वर्ष २०७८/७९ मा १२ अर्ब १८ करोड ८ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा ९ अर्ब ८९ करोड १४ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको थियो । पछिल्लो समय आर्थिक मन्दी तथा विदेश जाने कारणले पनि पोलिसी सरेण्डर बढीरहेको जानकारहरूको भनाइ छ । आर्थिक मन्दीका कारण पनि पोलिसी सरेण्ड बढेको बीमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक राजुरमण पौडेलको भनाइ छ । बीमा भोलिका दिनका लागि भएको र अहिले आर्थिक अभावका कारणल पोलिसी सरेण्डर गरेर अहिलेको अभाव टार्न खोज्दा पालिसी सरेण्डर बढ्दै गएको उनको भनाइ छ ।

हैसियतभन्दा बढीको बीमा गराएका कारणले पनि पोलिसी त्याग गर्ने क्रम बढ्दै गएको बीमा विज्ञ रवीन्द्र घिमिरेको भनाइ छ । अर्कोतर्फ धेरै बीमा कम्पनीमा बीमा गराएकका कारणले पनि यस्तो हुन सक्ने उनले बताए । ‘बीमा लामोसमय सम्म चल्ने प्रक्रिया हो । अरु क्षेत्रमा हाताहाति भए पनि यो उदारो हुन्छ । नबुझेर वा आर्थिक संकट परेर बीमा पोलिसी सरेण्डर गरेको पनि हुन सक्छ,’ उनले भने । अहिले अर्थतन्त्र शिथिल रहेको अवस्था छ । जसले गर्दा पोलिसी जारी राख्न नसकेका कारण पनि यस्तो भएको हुन सक्ने उनको भनाइ छ ।

नेपाल बीमा प्राधिकरणले पोलिसी सरेण्डरको कारण खोजिरहेको र त्यसका लागि अनुसन्धान भइरहेको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिए । रिसर्ज गरेर कारण पत्ता लागेपछि त्यसमा प्राधिकरणले हस्तक्षेप गर्ने प्रवक्ता सुवेदीको भनाइ छ । ‘नियतबस रुपमै सरेण्डर गर्ने निकै कम मात्रै होला भन्ने अनुमान गर्न सकिन्छ । एकिन कारण त अध्ययनको रिपोर्टबाट थाहा हुन्छ,’ उनले भने । अर्कोकुरा डिस्पोजेबल इनकम नभएका कारणले पनि सरेण्डर गरेर खर्च गरिरहेको हो कि भन्ने अनुमान गर्न सकिने अवस्था रहेको उनको भनाइ छ ।

अर्कोतर्फ अहिले नेपालीहरू विदेश गइरहेको अवस्थामा पनि उनीहरूले पोलिसी त्यागेको हुन सक्ने प्रवक्ता सुवेदीले बताए । पुरानो पोलिसी छोडेर नयाँ पोलिसी लिने कारणले पनि यस्तो हुने गरेको प्रवक्ता सुवेदीको भनाइ छ । अहिलेको अवस्था सिर्जना हुनुमा आर्थिक मन्दी नै मुख्य कारण भएकाले अर्थतन्त्र सुधार भए पछि सस्ता समस्या पनि समाधान हुँदै जाने उनले बताए ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal