काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि भोलि (बुधबार) अन्तर्वार्ता हुँदैछ । सीईओको लागि १० जनाको आवेदन परेकोमा ५ जनालाई कार्ययोजना प्रस्तुती र अन्तर्वार्ताका लागि बोलाइएको हो ।
अन्तर्वार्तामा बालाइएकाहरुमा पूर्ण प्रसाद आचार्य, हेमन्त बस्याल, नारद कुमार लुइँटेल, बद्रीप्रसाद प्याकुरेल र चुडामणी चापागाई रहेका छन् । उनीहरुको कार्ययोजना प्रस्तुती र अन्तर्वार्ता पछि सरकारलाई तीन जनाको नाम सिफारिस गरिने छ । त्यसमध्ये एक जनालाई मन्त्रिपरिषद्ले सीईओमा नियुक्त गर्ने छ । नेप्सेको सीईओ बन्नका लागि धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १६ क बमोजिम अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर गरेको हुनुपर्छ । यस्तै चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधी हासिल गरेको व्यक्ति योग्य हुने छ ।
यस्तै पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा १५ वर्षको कार्य अनुभव पनि आवश्यक पर्छ । उच्च व्यवस्थापकीय तह भन्नाले सरकारको अधिकृतस्तरको कम्तीमा प्रथम श्रेणी वा सो सरह वा कम्पनी वा संगठित संस्थाको हकमा कार्यकारी प्रमुख वा दुई तह मातहत सम्मको व्यवस्थापकीय नेतृत्वमा रहेको हुनुुपर्छ ।
पूर्ण प्रसाद आचार्य
पूर्ण प्रसाद आचार्य ३२ वर्ष बैंकिङ क्षेत्रमा कार्य गरेका व्यक्ति हुन् । इलामका आचार्य कृषि विकास बैंकको उप–महाप्रबन्धकका रुपमा काम गरिसकेका व्यक्ति हुन् । उनले डेढ वर्ष कृषि विकास बैंकमा उक्त पदमा रहेका काम गरे । त्यो बीचमा उनी तीन महिना बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि बने ।
आचार्यले पूर्वाञ्चल विश्वविद्यालयबाट एक्जुकेटिभ मास्टर इन बिजनेस एडमिस्ट्रेसन गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी अध्ययन गरेका छन् । बैंकबाट निवृत्ति भए पछि उनी सीडीएससीको सीईओ समेत बनिसकेका छन् ।
हेमन्त बस्याल
सर्ट लिस्टमा परेका हेमन्त बस्याल पाल्पाका स्थायी बासिन्दा हुन् । पाल्पाको बेगनासकाली–६ मा जन्मेका बस्याल त्रिभुवन विश्वविद्यालयबाट लगानी वित्त विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेका व्यक्ति हुन् । उनी बस्याल एन्ड कम्पनीमा उनी १३ वर्ष प्रबन्ध निर्देशकका रुपमा कार्यरत थिए भने हाल एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारीका रुपमा कार्यरत छन् । उनले तत्कालिन बीमा समितिमा जोखिम व्यवस्थापन समितिको सदस्यको रुपमा पनि काम गरेका छन् ।
बद्रीप्रसाद प्याकुरेल
बद्रीप्रसाद प्याकुरेल हाल आरबीबी मर्चेन्ट बैंकिङको सीईओको जिम्मेवारीमा रहेका छन् । नुुवाकोटको बिदुर नगरपालिका–१०, गेर्खु माझगाँउका जन्मेका प्याकुरेल करिब ५ वर्षदेखि उक्त कम्पनीमा सीईओका रुपमा कार्यरत छन् । उनी त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त व्यक्ति हुन् । प्याकुरेलले नेपाल फाइनान्समा चिफ मर्चेन्ट बैंकिङ विभागमा २ वर्ष, विराट लक्ष्मी विकास बैंकमा पब्लिक डाइरेक्टर भएर ६ वर्ष, एनआईबीएल एस क्यापिटलमा एसिस्टेन्ट जनरल म्यानेजर भएर साढे ६ वर्ष काम गरेका छन् ।
नारदकुमार लुइटेल
सर्ट लिस्टमा परेका लुइटेल सर्लाहीका स्थायी बासिन्दा हुन् । एमबीएसम्मको अध्ययन गरेका उनी पर्यटन व्यवसायी समेत हुन् । लुइँटेलले तारागाउँ विकास समितिमा एक कार्यकाल अध्यक्ष भएर काम गरिसकेका छन् । उनलाई २०७८ फागुनमा सरकारले पुनः तारागाउँ विकास समितिको सदस्य सचिवको जिम्मेवारी दिएको थियो । लुइँटेलले तारागाँउ विकास समितिको अध्यक्ष हुँदा हायात होटलको छानबिन गराएर कारबाहीको दायरामा ल्याउन सफल भएका थिए ।
चुडामणी चापागाईं
झापाका चुडामणी चापागाईं सानिमा बैंकका पूर्वकर्मचारी हुन् । उनले सानिमा बैंकको झापा लगायतका शाखामा प्रमुख भएर काम गरेका छन् । उनी तत्कालीन सानिमा लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर पनि हुन् ।
प्रतिक्रिया दिनुहोस्