काठमाडौं । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा न्यून गुणस्तर पाइएपछि नेपालमा दुई भारतीय कम्पनीका औषधि बिक्री वितरणमा औषधि व्यवस्था विभागले बिक्री वितरणमा रोक लगाएको हो ।
सो विभागले भारतको साइकोट्रपिक इन्डिया लिमिटेडको पिल्प्यान ४०, पेन्टोप्राजोल ट्याब्लेटको एमजीको ब्याच नम्बर सीआई६४३००८ को बिक्री वितरणमा रोक लगाएको छ । यस औषधिको आयातकर्ता शारदा मेड्केयर ट्रेडर्स प्रालि काठमाडौं रहेको विभागले जनाएको छ ।
यस्तै, भारतकै एरिस्टो फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ब्याच नम्बर एमपीजे२३३४८७ को एसिटप ४० एमजी, पेन्टाप्राजोल औषधि पनि बिक्रीमा रोक लगाइएको छ । यस औषधिको नेपाली आयातकर्ता युनिक ट्रेड लिंक प्रालि वीरगन्ज हो ।
विभागले खराबी देखिएको ब्याचको औषधि बिक्री वितरण नगर्न तथा बजारबाट फिर्ता ल्याएर त्यसको विवरण बुझाउन निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्