काठमाडौं । पछिल्लो समय बैंकहरुको गैरबैंकिङ सम्पत्ति टाउको दुखाइ बनिरहेको छ । लिलामीमा राखेको धितो बिक्री नहुँदा बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढ्दै गएको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ८० प्रतिशतले वृद्धि भएको छ । चालु आवको फागुन मसान्तसम्मको अवधिमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ८०.०३ प्रतिशतले वृद्धि भएर ३६ अर्ब २० करोड ६७ लाख रुपैयाँ बराबर पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा १६ अर्ब ९ करोड ५६ लाख रुपैयाँले बढी हो । गत आवको फागुनसम्ममा बैंकहरुको यस्तो सम्पत्ति २० अर्ब ११ करोड ११ लाख रुपैयाँ रहेको थियो ।
बैंकहरूले नउठेको कर्जाको धितो लिलाम बिक्री हुन नसकेपछि आफैंले सकार्नु परिरहेको छ । जसले गर्दा गैरबैंकिङ सम्पत्ति बढिरहेको छ । आर्थिक शिथिलताका कारण पछिल्लो समय कर्जा असुलीमा बैंकहरु असफल भइरहेका छन् । आर्थिक मन्दीका कारण साँवा ब्याज भुक्तानी गर्न सकिरहेका छैनन् । जसले गर्दा बैंकहरुले धितो लिलाम गर्ने गरेका छन् । बैंकहरूलाई यस्तो सम्पत्ति राख्नु परेपछि यसको व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको छ ।
यो अवधिमा गैरबैंकिङ सम्पत्ति धेरै हुने वाणिज्य बैंकमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । यो बैंकको गैर बैंकिङ सम्पत्ति ५ अर्ब ८८ करोड ३५ लाख रुपैयाँ पुगेको छ । यो गत आवको सोही अधिको भन्दा १४५.६३ प्रतिशतले धेरै हो । यो बैंकसँग गत आवको फागुन सम्ममा यस्तो सम्पत्ति २ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ बराबरको थियो ।
यो अवधिमा गैरबैंकिङ सम्पत्ति धेरै हुने बैंकको दोस्रो स्थानमा हिमालयन बैंक रहेको छ । यो बैंकको यस्तो सम्पत्ति चालु आवको फागुन महिनासम्ममा ४ अर्ब ५३ करोड ४८ लाख रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको भन्दा ४३७.१३ प्रतिशतले धेरै हो ।
त्यस्तै, एनआईसी एसिया बैंकको गैरबैंकिङ सम्पत्ति ३५.१७ प्रतिशतले बढेर ४ अर्ब ३८ करोड, नबिल बैंकको १५४.२३ प्रतिशतले बढेर ३ अर्ब ७५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५८.०२ प्रतिशतले बढेर ३ अर्ब १० करोड र कुमारी बैंकको ३८.०३ प्रतिशतले बढेर २ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै प्राइम बैंकको २.५४ प्रतिशतले घटेर यस्तो सम्पत्ति २ अर्ब २ करोड रुपैयाँ पुगेको छ । चालु आवको फागुन मसान्तसम्ममा लक्ष्मी सनराइज बैंकको १९.७५ प्रतिशतले बढेर १ अर्ब ६२ करोड, प्रभु बैंकको ११९.६८ प्रतिशतले बढेर १ अर्ब २६ करोड, एनएमबि बैंकको ४४.८२ प्रतिशतले बढेर १ अर्ब १४ करोड र सिटिजन्स बैंकको २५०.५१ प्रतिशतले बढेर १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।
यो अवधिमा कृषि विकास बैंकको ३०३.५४ प्रतिशतले बढेर १ अर्ब १ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको गैरबैंकिङ सम्पत्ति ३२.१९ प्रतिशतले घटेर ९८ करोड, सानिमा बैंकको १७१.३१ प्रतिशतले बढेर ७२ करोड ७ लाख, सिद्धार्थ बैंकको ६.०३ प्रतिशतले वृद्धि भएर ६८ करोड २ लाख रुपैयाँ, एभरेष्ट बैंकको २७५.४३ प्रतिशतले बढेर ५८ करोड २ लाख, नेपाल एसबिआई बैंकको ३६२.३३ प्रतिशतले बढेर ३५ करोड ३ लाख, राष्ट्रिय वाणिज्य बैंकको ५९.२२ प्रतिशतले बढेर २९ करोड ७ लाख र नेपाल बैंकको ११.५६ प्रतिशतले बढेर २० करोड ४ लाख रुपैयाँ पुगेको छ ।






प्रतिक्रिया दिनुहोस्