Skip to content

आर्थिक मन्दीको जोखिमबीच रूसको प्रमुख ऋण लागत दर दुई दशकयताकै उच्च

मस्को । रुसको केन्द्रीय बैंकले बढ्दो मुद्रास्फीतिसँग जुध्नका लागि शुक्रबार दुई दशक यताकै उच्च २१ प्रतिशत ऋण लागत कायम गरेको छ ।

युक्रेन द्वन्द्वमा ठूलो सरकारी खर्च र कामदारको गम्भीर अभावका कारण महिनौंदेखि रुसी अर्थतन्त्रमा मूल्य तीव्र गतिमा बढिरहेको छ ।

Hyundai

यसबीचमा देशको केही शीर्ष कर्पोरेट नेतृत्वले केन्द्रीय बैंकलाई ब्याजदर खुकुलो बनाउन दबाब दिइरहेको छ । रुसको केन्द्रीय बैंकले एक विज्ञप्ति जारी गर्दै ऋण प्रवाहको गतिविधि ‘कमजोर’ रहेको स्वीकार गरेको छ तर मुद्रास्फीति १० प्रतिशतभन्दा माथि रहेको र यो अझै पनि उच्च रहेको जनाएको छ ।

रूसको मुद्रास्फीतिको लक्ष्य दर चार प्रतिशत छ, तर मूल्य वृद्धि २०२६ सम्म त्यो स्तरमा पुग्ने आशा गरिएको छैन र सन् २०२५ मा औसत सातदेखि आठ प्रतिशतको बीचमा हुनसक्छ ।

‘बैंक अफ रसियाले सन् २०२६ मा मुद्रास्फीतिलाई लक्ष्यमा फर्काउन आवश्यक पर्ने मौद्रिक अवस्थालाई यथाशक्य कडा बनाउने छ,’ बैंकले प्रतिवद्धता जानाएको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बैंकका गभर्नर एल्भिरा नाबिउलिना र मन्त्रिपरिषद्का अधिकारीहरूसँगको भिडियो कलमा मुद्रास्फिति धेरै उच्च रहेको र सन् २०२५ मा रुसको आर्थिक वृद्धि दर ‘केही कम’ हुने बताएका छन् ।

उनले यो ‘सफ्ट ल्यान्डिङ’ को हिस्सा भएको र रुसले मुद्रास्फीति नियन्त्रणका लागि उल्लेखनीय ‘प्रयास गरिरहेको’ बताएका छन् ।

अर्थशास्त्रीहरूले महिनौंदेखि तेलको मूल्यमा आएको गिरावट, उच्च ब्याज दर र उत्पादनमा आएको मन्दीले समस्या निम्त्याएको भन्दै रुसको आर्थिक गतिविधिमा मन्दी आउने चेतावनी दिँदै आएका छन् ।

रुसी ऋणदाता राइफिसेन बैंकले मार्चमा एक आर्थिक अनुसन्धान रिपोर्टमा विनिर्माण क्षेत्रको विश्वास ‘पछिल्लो केही महिनामा उल्लेखनीय रूपमा घटेको र तेल उद्योगमा उत्पादन पनि सुस्त भएको’ बताएको थियो ।

रुसले सन् २०२४ का लागि बलियो आर्थिक वृद्धि दर हासिल गरेको बताएको छ । राज्यको ठूलो रक्षा खर्च सन् २०२५ मा फेरि लगभग ३० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अर्थशास्त्रीहरूले रक्षा उद्योगद्वारा योगदान गरेको वृद्धि दिगो नहुने र यसले उत्पादकत्वमा वास्तविक वृद्धिलाई प्रतिबिम्बित नगर्ने चेतावनी दिएका छन्।

विश्लेषकहरूका अनुसार ब्याज दर वृद्धि मुद्रास्फीति कम गर्न प्रभावकारी उपकरण पनि नहुन सक्ने बताएका छन् किनकि यति धेरै खर्च राज्यद्वारा निर्देशित गरिएको छ। यो उच्च उधारो लागतको लागि कम उत्तरदायी छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्