म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । धौलागिरि गाउँपालिकाले एक करोड ३० लाख रूपैयाँको लागतमा निर्माण गरेको आयोजनाबाट गुर्जाका दुई सय ५२ घर, स्वास्थ्यचौकी र विद्यालयमा खानेपानीको धारा जडान भएको हो ।
धौलागिरि गाउँपालिका–१ का वडाध्यक्ष झलकबहादुर छन्त्यालले सबै घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको जानकारी दिनुभयो । “पछिल्लो दुई वटा आर्थिक वर्षमा १ करोड ५० लाख बजेट विनियोजन भएको योजना कार्यान्वयनका लागि फरकफरक निर्माण कम्पनीसँग १ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो’, उनले भने, ‘घरघरमा धारा जडान गरेर खानेपानी वितरण भएपछि गुर्जावासीको दैनिकी सहज भएको छ ।’
साउनाखोलाको मुहानमा इन्टेकबाट ६३ एमएमको तीन हजार ४८० मिटर मुख्य पाइपलाइनबाट ल्याइएको पानीलाई २५ हजार लिटर क्षमताको रिजर्भ टङ्कीमा सङ्कलन गरेर शाखा पाइपलाइनमार्फत वितरणको व्यवस्था मिलाइएको छ । खानेपानी वितरणलाई व्यवस्थित, पानीको मितव्ययी प्रयोग र आयोजनाको दीर्घकालीन सञ्चालन गर्न सबै धारामा मिटर जडान गरिएको छ ।
स्थानीयवासी सुकमाया छन्त्यालले घरघरमा खानेपानी आपूर्ति भएपछि समयको बचत र सरसफाइमा सहयोग पुगेको बताए । ‘यसअघि गाउँभरि चार वटा सार्वजनिक धाराबाट पानी ल्याउन पालो पर्खनुपर्दथ्यो’, उनले भने, ‘घर, घरमा पानी आउन थालेपछि हाम्रो दैनिकी फेरिएको छ ।’
आर्थिक वर्ष २०७९र८० मा ५० लाख रुपैयाँ विनियोजन भएको गुर्जा बृहत् खानेपानी योजना कार्यान्वयनका लागि बेनीको बिएण्डडी निर्माण सेवाले ४४ लाख ७८ हजार ११२ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । यो वर्ष मुहान, मुख्य पाइपलाइन र रिजर्भ टङ्की निर्माण भएको थियो ।
आर्थिक वर्ष २०८०र८१ मा एक करोड रुपैयाँ विनियोजन भएकामा बेनीको खुसी होम विल्डर्सले ८५ लाख ७८ लाख ४३७ रुपैयाँ मा शाखा पाइपलाइन, धारा निर्माण र मिटर जडान भएको धवलागिरि गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख लोकेन्द्र रावलले बताए ।
दुई दशकअघि आइएनएफ कार्यक्रममार्फत गुर्जामा निर्माण भएको खानेपानी आयोजनाका संरचनाहरु जीर्ण भएको थियो । सार्वजनिक धारा बन्नुअघि गुर्जावासीले कुवा र मुहानमा गएर पानी ओसार्ने गर्दथे । गुर्जा म्याग्दीका ६ वटा स्थानीय तहका ४५ वटा वडामध्ये हालसम्म सडक यातायातको सुविधा नपुगेको बस्ती हो । छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको सबैभन्दा दुर्गम र विकट क्षेत्रमा अवस्थित छ ।
प्रतिक्रिया दिनुहोस्