काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा नियामकीय व्यवस्था तथा निर्देशन उलंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले ५ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक र नेपाल बैंक लिमिटेडलाई कारावाही कारबाही गरेको हो ।
केन्द्रीय बैंकले चार बैंकलाई सचेत गराएको छ भने एक बैंकलाई नगद जरिवाना गरेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक
केन्द्रीय बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५६६ रुपैयाँ ८७ पैसा नगद जरिवाना गरेको छ । बैंकले २०८१ पुस मसान्तसम्मको अवधिमा उक्त बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेका कारण जरिवाना गरिएको छ हो ।
कुमारी बैंक
केन्द्रीय बैंकले कुमारी बैंकका प्रमुख कार्यकारीले सुक्षम निगरानी तथा निष्कृय कर्जालाई वर्गीकरण नगरेको साथै न्यूनतम कर्जा नोक्सानी व्यवस्था समेत नगरेको भन्दै सचेत गराएको छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्र बैंकले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा कर्जाको वर्गीकरण नगरेको, सोही अनुसार कर्जा नोक्सानी व्यवस्था र जोखिम भार समेत गणना नगरेको पाइएपछि बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।
यस बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८० को इ.प्रा. निर्देशन नं.२/०८० को बुँदा नं. १ (क) (२) र बुँदा नं. ९(३) र (४) बमोजिम केही कर्जाहरुलाई सुक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको, सोही निर्देशनको बुँदा नं. १ (ख) बमोजिम केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, सोही निर्देशनको बुँदा ९ को उपबुँदा नं. (१) बमोजिम कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरुको जोखिम भार गणना गर्दा यस बैंकबाट जारी पुँजी पर्याप्तता रूपरेखा २०१५ बमोजिम जोखिम भार गणना नगरेको तथा यस बैंकबाट जारी चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ (दोस्रो संशोधन) मा भएका कतिपय व्यवस्थाहरुको पूर्ण पालना गरेको नपाइएकोले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराएको छ ।
लक्ष्मी सन्राईज बैंक
लक्ष्मी सन्राईज बैंकका प्रमुख कार्यकारी अधिकृतलाई केन्द्रीय बैंकको निर्देशन पालन नगरेको भन्दै नसिहत दिइएको छ । बैंकको संस्थापक सेयरधनी बैंकमा कल र चालु खाता सञ्चालन गर्दै आएकोमा चालु खातामा विभिन्न मितिमा ऋणात्मक मौज्दात रहने गरी अप्रत्यक्ष रुपमा ऋण सुविधा दिएको राष्ट्र बैंकले जनाएको छ ।
लक्ष्मी सनराइज बैंकले राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन तथा बैंकको कर्जा नीति एवं कर्जाका प्रोडक्ट पेपरहरुको व्यवस्थाको अपव्याख्या गरी चालु पुँजी प्रकृतिको कर्जाका लागि लामो समयावधिको आवधिक कर्जा प्रदान गरेको पाइएको छ । यसैगरी मार्जिन प्रकृतिका कर्जाको प्रयोजनका लागि आवधिक कर्जा प्रदान गरेको, कर्जामा निहित जोखिमलाई समयमै व्यवस्थापन नगरी व्यक्तिगत आवधिक कर्जा तथा लामो समयदेखि सञ्चालनमा रहेका ठूला व्यवसायिक संस्थाहरुलाई समेत बेलुनिङ किस्ता कायम गरी कर्जा अवधिको शुरुका वर्षहरुमा अत्याधिक न्यूनतम तथा अन्तिम वर्षहरुमा अधिकतम साँवा असुल हुने गरी कर्जाको किस्ता कायम गरेको राष्ट्र बैंकको ठहर छ ।
नीतिगत व्यवस्था रहेका कर्जाका प्रोडक्ट पेपरहरु सञ्चालक समितिबाट स्वीकृत हुनुपर्नेमा प्रमुख कार्यकारी अधिकृतबाट नै स्वीकृत गर्ने गरेको तथा चालु पुँजी कर्जाका लागि ब्रिज ग्याप कर्जा प्रदान गरी लामो समयपश्चात यस्तो कर्जालाई आवधिक कर्जामा परिणत गर्नाले कर्जा जोखिम व्यवस्थापनमा व्यवस्थापन गम्भिर नरहेको नपाइएकोले केन्द्रीय बैंकले कारबाही गरेको हो ।
यता बैंकले संस्थापक सेयरधनीका लागि ऋण लिने सन्दर्भमा सेयर धितो राख्नु पूर्व राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेमा लक्ष्मी सनराइजको २ प्रतिशतभन्दा बढी सेयर धारण गर्ने एक संस्थापक सेयरधनीले धारण गरेको बैंकको संस्थापक सेयर धितो राखी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडबाट कर्जा लिँदा राष्ट्र बैंकको स्वीकृति नलिई संस्थापक सेयर धितोबन्धक राखेको तथा कर्जा उपयोग गरेको अभिलेख बैंकले नराखेको कारण कारबाही गरिएको छ ।
नेपाल बैंक
केन्द्रीय बैंकले नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतलाई वार्षिक बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न नसकेपछि सचेत गराएको छ । साथै बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीलाई आफ्नो पद र नामको दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको पाइएपछि ५ लाख रुपैयाँ जरिवाना गरेको छ ।
प्रतिक्रिया दिनुहोस्