एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको आयात कर (ट्यारिफ) नीति प्रभावमा आएपछि एप्पल कम्पनीले यो त्रैमासिकमा करिब ९० करोड डलर बराबरको अतिरिक्त खर्च व्यहोर्नुपर्ने भएको छ । यद्यपि मोबाइल फोन तथा कम्प्युटरजस्ता प्रमुख इलेक्ट्रोनिक सामानहरूलाई तात्कालिक रूपमा ट्यारिफबाट छुट दिइएको छ ।
ट्रम्प प्रशासनको ट्यारिफ रणनीतिले आपूर्ति श्रृंखला अव्यवस्थित बनाइदिएको भन्दै एप्पलले अमेरिका पठाइने आइफोनहरूको उत्पादन चीनबाट हटाएर भारततर्फ सारिएको जनाएको छ । कम्पनीका अनुसार आउँदो केही महिनामा अमेरिका भित्रिने अधिकांश आइफोनहरू भारतमा बनेका हुनेछन् ।
एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले लगानीकर्ताहरूसँगको छलफलमा भने, “हामी आशा गर्छौं कि आगामी तीन महिनाभित्र अमेरिका भित्रिने अधिकांश आइफोनहरूको उत्पत्ति भारतबाट हुनेछ ।”
उनका अनुसार आइप्याड, म्याक, एप्पल वाच र एयरपड्सको उत्पादन भने भियतनाममा सारिनेछ, र अमेरिकामा बेचिने ती सबै उत्पादनहरू लगभग भियतनाममा बनेका हुनेछन् ।
बिक्रीमा असर नपरेको कम्पनीको दाबी
यद्यपि ट्यारिफले आपूर्ति श्रृंखलामा प्रभाव पारेको भए पनि एप्पलको बिक्रीमा तत्काल असर परेको छैन । कम्पनीले सन् २०२५ को पहिलो तीन महिनामा ९५.४ अर्ब डलर आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा ५ प्रतिशतले बढी हो ।
अर्को ठूला प्रविधि कम्पनी अमेजनले पनि राम्रो नतिजा सार्वजनिक गरेको छ । कम्पनीले उत्तर अमेरिकी इ–कमर्स कारोबारमा ८ प्रतिशत वृद्धि गरेको जनाएको छ । कुल बिक्री ९ प्रतिशतले वृद्धि भई १५५.७ अर्ब डलर पुगेको छ भने मुनाफा ६० प्रतिशतले वृद्धि भई करिब १७ अर्ब डलर पुगेको छ ।
फाइदा भारत–भियतनामलाई
ट्रम्पले आफ्नो रिसिप्रोकल ट्यारिफ नीतिअन्तर्गत अमेरिकी भूमिमा बढी उत्पादन गर्न कम्पनीहरूलाई प्रेरित गर्ने उद्देश्य राखेका थिए । उनले एप्पलका उत्पादनहरू पनि अमेरिकामै बनाउन चाहेको बताएका थिए । तर हालको अवस्थाले भारत र भियतनामलाई बढी लाभ पुगेको देखिन्छ ।
टिम कुकले अमेरिका भर विभिन्न राज्यहरूमा आगामी चार वर्षभित्र ५० अर्ब डलर लगानी गर्ने योजना पनि दोहो¥याएका छन् । तर विश्लेषकहरूका अनुसार चीन बाहेक अन्य देशहरूमा उत्पादनको जिम्मेवारी सर्नु एप्पलको आपूर्ति रणनीतिमा महत्वपूर्ण मोड हो ।
मूर इन्साइट्स एन्ड स्ट्र्याटेजीका प्रमुख कार्यकारी प्याट्रिक मूरहेडले भने, “यो धेरै ठूलो परिवर्तन हो । केही वर्ष अघि टिम कुकले भनेका थिए कि केवल चीनले मात्र आइफोन बनाउन सक्छ । तर अहिलेको अवस्थाले ठूलो प्रगति देखाउँछ ।”
प्रतिक्रिया दिनुहोस्