काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले केआइआइटीमा अध्ययनरत नेपाली छात्राको निधनपछि उडिसाका मुख्य मन्त्री मोहनचरण माझी तथा उक्त प्रदेशका प्रमुख सचिवलाई उक्त घटनाको निश्पक्ष छानिबन गर्न अनुरोध गरेका छन् ।
भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) स्नातक तह प्रथम वर्षमा अध्ययनरत १८ वर्षीया वीरगञ्जकी प्रिसा साह छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी छन् । त्यस लगत्तै राजदूत शर्माले छानिबन गर्न अनुरोध गरेको भारतको नयाँ दिल्लीमा रहेका नेपाली दूतावासले जनाएको छ ।
उक्त घटना भारतमा रहेको नेपाली राजदूतावासले बिहीबार राति थाहा पाएको जनाएको छ । जानकारी प्राप्त हुना साथ राजदूतावासले उक्त शैक्षिक संस्थाका प्रतिनिधिहरु, प्रहरी अधिकारीहरु, विदेश मन्त्रालयका अधिकृतलगायत अन्य सरोकारवालाहरुसँग तत्काल सम्पर्क तथा छलफल गरी घटनाको बारेमा जानकारी लिएको छ । घटनाको स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन तथा शैक्षिक संस्थामा अध्यनरत सम्पुर्ण नेपाली विद्यार्थीहरुको सुरक्षाको प्रत्याभूती हुन जोड दिए।
यस सम्बन्धमा नेपालको परराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयबाट यस राजदूतावासलाई आवश्यक निर्देशन प्राप्त भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
राजदूतावासले केआइआइटीमा रहेका नेपाली विद्यार्थी लगायत भारतको केन्द्रिय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्वन्धित भारतीय निकायहरुसंग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको जनाएको छ ।
राजदूतावासले आज बिहान केआइआइटीका प्रतिनिधिलाई राजदूतावासमा बोलाई उक्त घटनाका बारेमा जानकारी लिएको विज्ञप्तिमा उल्लेख छ । राजदूतावासले मृतकका परिवारसँग निरन्तर सम्पर्क गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्