काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा प्रवासी श्रमिकहरूलाई बेवास्ता गरिएका प्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभामा उनले विदेशमा पसिना बगाइरहेका लाखौं नेपालीलाई राज्यले नजरअन्दाज गरेको भन्दै प्रश्न गने ‘आँसु, रगत र पसीना बगाउने प्रवासी श्रमिकहरू राज्यको नजरमा सुखी नेपाली होइनन् ?’
अहिलेको आर्थिक संरचना रेमिट्यान्समा टेकेको भए पनि विदेशमा रहेका नेपाली श्रमिकहरू नीति तथा कार्यक्रममा नसमेटिनु दुःखद भएको बताउँदै उनले सरकारको दृष्टिकोणमा गम्भीर प्रश्न उठाए ।
‘सरकारले रेमिट्यान्सको वृद्धिदर देखाएर प्रगति बाँडिरहेको छ, तर त्यो रेमिट्यान्स को पसिनाले आएको हो भन्नेबारे विचार गरिँदैन’ प्रचण्डले भने, ‘विदेशमा श्रम गरेर पठाएको पैसाको कदर गर्ने, उनीहरू फर्किएपछि सीपको उपयोग गर्ने योजना खै नीति तथा कार्यक्रम । ’
उनले अघिल्लो वर्ष नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको ‘रेमिट्यान्स उद्यमशीलता कार्यक्रम’ यस वर्ष किन हटाइएको भन्नेमा पनि प्रश्न उठाए । ‘एक लाख रिटर्नी नेपालीलाई उद्यममा जोड्ने कार्यक्रम नीति तथा कार्यक्रममा अटाउन नसक्नु आफैंमा दुर्भाग्यपूर्ण हो’, उनले टिप्पणी गरे ।
अध्यक्ष प्रचण्डका अनुसार १० महिना बितिसक्दा आफु नेतृत्वको सरकारले राखेका रिर्टनी उद्यमशिलता लगायतका कार्यक्रम नचलेको मात्र होइन, यस वर्ष त शीर्षकसम्म हटाइएर प्रवासी श्रमिकलाई अपमानित बनाइएको उनले बताए । ‘वास्तवमा प्रवासी श्रमिकको योगदानलाई आत्मसात गर्ने सोच नै सरकारसँग छैन’, उनले भने ।












प्रतिक्रिया दिनुहोस्