काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारले नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने कुनै पनि योजना नीति तथा कार्यक्रममा नराखेको बताएका छन् ।
‘भ्रष्टाचार बढेको र कालोधन शुद्धीकरण गर्ने क्रम बढेको फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ)ले नेपाललाई ग्रे लिस्टमा राखेको हाम्रो सामु छ,’ प्रचण्डले भने, ‘देशलाई यथाशीघ्र बाहिर ल्याउने कार्यमा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा यसलाई तपसिलको विषय बनाएर दुई वर्षपछि यस लिस्टबाट हटाउने लक्ष्य राखिनुले सरकार यथार्थमा नै गैरजिम्मेवार देखिएको छ ।’
प्रचण्डले भने, ‘आफ्नो नेतृत्वको सरकारले एफएटीएफले देखाएका विविध क्षेत्रमध्ये कानुन, संगठनात्मक संरचना र प्रणाली निर्माणमा काम गरेको दाबी गरेका छ । त्यस्तै, यसबाट बाहिर निस्किन आफ्नो सरकारले भ्रष्टाचार निवारणसम्बन्धी कार्यविधि बनाएर निर्मम ढंगले अगाडि बढेको उनले बताए । भ्रष्टाचारीलाई जोगाउन यो सरकार बन्दा देश ग्रे लिस्टमा परेको प्रचण्डको भनाइ छ ।
‘अवैध कारोबार, राजस्व छली, भ्रष्टाचार, सरकारी सम्पत्तिको दोहन र अनियमिततामा संलग्नहरूलाई कारबाही गर्न सकेमात्र देश सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निस्कन सक्दछ,’ प्रचण्डले भने ।
सरकारले यो काम र विषयलाई नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने उनले बताए। यस विषयलाई प्राथमिकता नदिए देश ब्ल्याक लिस्टमा पर्ने सम्भावना बढ्ने उनले बताए ।












प्रतिक्रिया दिनुहोस्