Skip to content
Prabhu

बजेटमा अटोमोबाइल करः एसेम्ब्लिङलाई प्रोत्साहन गर्न यस्ता छन् आइक्यानका सुझाव

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउँदा अटोमोबाईल एसेम्ब्लिङलाई प्रोत्साहन गर्नुपर्ने नीति लिन सुझाव दिएको छ ।

हाल विभिन्न बहुर्राष्ट्रिय अटोमोबाइल कम्पनीहरुले नेपालमा एसेम्ब्ली प्लान्ट लगाउने गृहकार्य गरिरहेको भएपनि अहिलेको करको व्यवस्थाले यो सम्भव नदेखिने आइक्यानले जनाएको छ । हाल नेपालमा बनिबनाउ अटो मोबाइलको भन्सार महसुल र अन्तशुल्क धेरै छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

अटोमोबाइल एसेम्बली गर्दा समेत झण्डै २०० प्रतिशत रकम भन्सार महशुल र अन्तशुल्कको रुपमा कर तिर्नूपर्ने बाध्यता छ । पाटपुर्जा आयात गरी एसेम्बली गर्दा, इन्जीन, चेचिस र ड्राईभ टुनको भन्सार महसुल ८० प्रतिशत रहेको छ ।

अन्य पाटपुर्जामा भन्सार महशुल १५ प्रतिशतको हाराहारी भएता पनि एसेम्ब्ली गर्दा मुख्यरुपमा आयात गर्नुपर्ने इन्जीन चेचिस र ड्राईभ ट्रेनको भन्सार महसुल धेरै हुँदा, नेपालमा एसेम्ब्ली गर्दा खासै फाईदा नदेखिएको जनाएको छ । त्यसैले नेपालमा अटोमोबाइल उद्योग स्थापना हुन वा स्थापना भएकाहरु टिक्न नसकेको जनाइएको छ ।

अटोमोबाइल उद्योगको विकास संगसंगै यसका धेरै पाटपुर्जाहरुको उद्योगको पनि विकास हुने गर्दछ । भारत लगाएत विभिन्न देशहरुमा मोटर कार निर्माण उद्योगको शुरुवात एसेम्बली प्लाण्टबाट शूरु गरेको छ । अहिले ती देशहरुले स्वतन्त्र रुपमा मोटर कार निर्माण गर्न सक्षम भएका छन् ।

मोटर कारको एसेम्बली प्लाण्टलाई अन्तःशुल्क तथा भन्सार कम लिई प्रोत्साहन गरेको कारणले भारतमा उत्पादनमूलक उद्योग फस्टाएको छ । नेपालमा एउटा पनि अटोमोबाईलको उत्पादन हुँदैन । नेपालमा भन्सार महशुल, अन्त शुल्क अटोमोबाईलमा धेरै नै रहेको छ ।

अटोमोबाईल आयात गर्दा वा निर्माण गर्दा,अन्तशुल्क ६५ देखि १०० प्रतिशत सम्म लाग्ने गरेको छ । भन्सार महशुल सामान्यतया ८० प्रतिशत र मुल्य अभिवृद्धि कर १३ प्रतिशत रहेको छ । नेपालमा सडक विकास दस्तुर ८ देखि १० प्रतिशत रहेको छ ।

अहिले नेपालमा अटोमोबाईल आयात गर्दा मुल्य अभिवृद्धि कर र सडक विकास शुल्क पुर्व २२४ प्रतिशत बृद्धि अन्त शुल्क र भन्सार महसुले मात्रै हुने गरेको छ ।

नेपालमा अटोमोबाईलको उद्योग प्रवर्धन गर्नका लागि अटोमोबाइल ऐसेम्बल गर्नका लागि चाहिने मुख्य सामानमा चेचिस र ड्राईभ ट्रेनको भन्सार महसुल, सिंगो गाडी आयात गर्दा भन्दा कम दर तय गर्न जरुरी रहेको सुझावमा उल्लेख छ ।

एसेम्बलीङको सुविधा लिनका लागि एसकेडि वा सिकेडीको सम्बन्धमा नियमावली बनाउन जरुरी रहेको जना एको छ । त्यस्तैगरी ती ऐसेम्बली गर्ने उद्योगहरुले कम्तिमा पनि २५ प्रतिशत सामान नेपालमा बनेको प्रयोग गर्ने प्रावधान बनाइनुपर्ने सुझाव रहेको छ । त्यसको पालना भए नभएको संबन्धमा, लेखापरीक्षक बाट प्रमाणीत गराउने व्यवस्था मिलाइनुपर्ने सुझाव छ ।

हालको कर व्यवस्थामा आवश्यक परिवर्तन गर्न आवश्यक रहेको रहेको छ । भन्सार महसुल मा परिवर्तन गरी, एसेम्ब्लीका लागि आयात गरिने चेचिस र ड्राईभ ट्रनको भन्सार महसुल अन्य पाटपुर्जाहरुको दर बढिमा १५ प्रतिशत कायम गर्न सरकारलाई सुझाव दिइएको छ ।

उद्योग व्यवसाय ऐन वा नियममा, अटोमोबाइल उद्योगको ऐसेम्ब्ली सम्बन्धि एसकेडी वा सिकेडि सम्बन्धमा नियमावली वा निर्देशिका बनाई लागू गर्न अवाश्यक रहेको सुझावमा उल्लेख छ । यस्तो नियमावली वा निर्देशिकामा २५ प्रतिशत नेपालमा बनेको सामानको प्रयोग सम्बन्धी व्यवस्था गर्ने र सो व्यवस्थाको लेखापरीक्षकले प्रमाणित गर्नुपर्ने व्यवस्था हुनुपर्ने सुझावमा रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्