काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुको करिब १२ प्रतिशतले नाफा वृद्धि गरेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आवको चैत मसान्तसम्मको अवधिमा गत आवको सोही अवधिको तुलनामा ११.९३ प्रतिशतले नाफा बढेको हो ।
कम्पनीहरुले सार्वजनिक गरेको विवरणअनुसार चालु आवको चैत मसान्तसम्मको अवधिमा १२ वटा जीवन बीमा कम्पनीको नाफा बढेको छ भने २ वटा कम्पनीको नाफामा गिरावट देखिएको छ । सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा कुल ४ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ नाफा कमाउन सफल भएका छन् । गत आवको सोही अवधिमा भने कम्पनीहरुको यस्तो नाफा ४ अर्ब ३६ करोड ६२ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा मुनाफा आर्जनको हिसाबले नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । त्यस्तै यो अवधिमा नाफा वृद्धि गर्ने कम्पनीको शीर्ष स्थानमा एशियन लाइफ इन्स्योरेन्स रहेको छ । चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले ६५ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ८.६४ प्रतिशत बढी हो । कम्पनीले गत आवको सोही अवधिसम्ममा कुल ६० करोड बढीको नाफा कमाएको थियो ।
त्यस्तै धेरै नाफा कमाउने कम्पनीको दोस्रो नम्बरमा रहेको हिमालयन लाइफ इन्स्योरेन्सले कुल ४७ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ८.४९ प्रतिशतले बढी हो । गत आवको चैत मसान्सम्ममा कम्पनीले कुल ४३ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो ।
रिलायबल नेपाल लाइफले यो अवधिमा ४६ करोड ५७ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । यो अघिल्लो आवको सोही अवधिको भन्दा ३६.८८ प्रतिशतले धेरै हो । यो कम्पनीले गत आवको सोही अवधिमा कुल ३४ करोड बढीको नाफा कमाउन सफल भएको थियो ।
त्यस्तै, चालु आवको चैत मसान्तसम्ममा नेशनल लाइफले ४० करोड ८५ लाख रुपैयाँ, आइएमई लाइफले ३६ करोड ६३ लाख रुपैयाँ, सिटिजन लाइफले ३५ करोड ७६ लाख रुपैयाँ, मेट लाइफले ३४ करोड ५१ लाख रुपैयाँ, सानिमा रिलायन्सले ३३ करोड ७६ लाख रुपैयाँ र एसियन लाइफले ३३ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
समीक्षा अवधिमा सन नेपाल लाइफले ३२ करोड ८९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २९ करोड ५७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २७ करोड सात लाख रुपैयाँ, एलआइसी नेपालले २३ करोड ६० लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले १ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा सन नेपाल लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीको नाफामा वृद्धि भएको छ । यो अवधिमा सन नेपाल लाइफको नाफामा ३३.३६ प्रतिशतले गिरावट आएको छ भने राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा ३७.१० प्रतिशतले कमी आएको छ ।






प्रतिक्रिया दिनुहोस्