काठमाडौँ । गैरआवासीय नेपाली कृष्ण सिम्खडाले ठमेलमा नेपाली कला र संस्कृति झल्कने आर्या होटल एण्ड स्पा सञ्चालनमा ल्याएका छन् । नेपालको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अत्याधुनिक सुविधा र नेपाली कला, संस्कृतिको सम्बर्द्धन एवं प्रवर्द्धन गर्ने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको सिम्खडाले बताए ।
होटलको सोमबार साँझ आयोजित एक कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शुभारम्भ गरे । ठमेलको नरसिंह चोकमा रहेको उक्त होटलमा जग्गासहित दुई अर्ब ५० करोड हाराहारीमामा लगानी भएको सिम्खडाले जानकारी दिए । करिब दुई दशकअघि खरिद गरेको जग्गामा सात वर्षअघि होटल निर्माण सुरु भएको उनको भनाइ छ ।
नेपालमा पर्यटनको सम्भावना भएको र पछिल्लो समय विदेशी पर्यटक आगमन बढेको उल्लेख गर्दै उनले होटलमा लगानी गरेको बताए । “आर्य एउटा होटलमा मात्रै होइन, यो नेपाली कला संस्कृति प्रवर्द्धन गर्ने प्रयास पनि हो, यो होटल भावी पुस्तालाई हाम्रो मौलिक सांस्कृति मूल्य र परम्पराको सन्देश दिने महत्वपूर्ण माध्यम बन्ने विश्वास छ”, उनले भने ।
त्यस अवसरमा उपप्रधानमन्त्री सिंहले केही तत्वहरुले नेपालमा केही पनि हुँदैन भन्ने भाष्य निर्माण गर्न खोजेको उल्लेख गर्दै उक्त भ्रम कृष्ण सिंखडाले नेपालमा लगानी गरेर चिरेको बताए । उनले भने, “पछिल्लो समय केही मानिसहरुले नेपालमा केही छैन र केही हुँदैन भन्ने गरी भाष्य बनाउन खोजेका छन्, तर कृष्णजी जस्ता व्यक्तिहरुले सम्भावना देखेरै लगानी गरेर उक्त भ्रम चिर्न सफल हुनुभएको छ, म उहाँलाई विशेष धन्यवाद दिन्छु ।”
गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले मुलुकको आर्थिक विकासका लागि कृषि, पर्यटन र जलविद्युत् महत्वपूर्ण रहेको उल्लेख गर्दै ठूलो लगानीमा होटल निर्माण हुनु सुखद् भएको बताए । काठमाडौँ महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारीले पर्यटन अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यो क्षेत्र संरक्षणका लागि राज्यले चासो दिनुपर्नेमा जोड दिए । उनले पर्यटन क्षेत्रमा लाखौँले रोजगारी प्राप्त गरिरहेको उल्लेख गर्दै पर्यटन क्षेत्रको विकासले मात्रै मुलुकको आर्थिक विकास सम्भव भएको बताए ।
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले विदेशमा रहेको पुँजीलाई नेपालमा ल्याउन कृष्ण सिंखडाले खुलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले यसप्रकारका विदेशी लगानीलाई जोगाउँदै थप लगानी ल्याउनका लागि राज्यले नीतिगत रुपमा सुधार गर्नुपर्नेमा जोड दिए । उनले कला र संस्कृति संरक्षण र प्रवर्द्धन गर्दै होटल व्यवसाय सञ्चालन गर्न आफैमा चुनौती रहेको उल्लेख गर्दै लगानी जोगाउनका लागि राज्यले वातावरण सृजना गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्