म्याग्दी । रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक २३ करोड ३२ लाख रुपैयाँको लागतमा कालोपत्र हुने भएको छ । यस निम्ति आवश्यक तयारी भइरहेको छ ।
‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको तयारी थालेको हो ।
सडक फराकिलो पार्ने, टेवा पर्खाल लगाउने, वर्षाको पानी निकासका निम्ति नाली बनाउनेलगायत काम धमाधम भइरहेको छ । आगामी एकदुई दिनमा कालोपत्र थालिने इञ्जिनियर अरुण सेढाईंले बताए।
सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिमा कालोपत्र र दुई किलोमिटर आरसिसी ढलान गरिने छ । ‘ग्राभेल गर्ने, बेस बिछ्याइएको छ, अब कालोपत्रेका लागि तयारी अवस्थामा छौँ’, सेढाईंले भने ।
पहिलो चरणमा उपल्लाचौरदेखि तोराखेतसम्म नौ किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको उनले बताए । रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर ३०० मिटर कालोपत्रे र ३०० मिटर सडक ढलान भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्