Skip to content

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. श्रेष्ठले पाए अवकाश, योजना आयोगको सदस्य कायमै रहने

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ आजबाट सेवानिवृत्त भएका छन् । राष्ट्र बैंकमा साढे २७ वर्ष सेवा गरी श्रेष्ठ सेवानिवृत्त भएका हुन् ।

२०५४ साल मंसिर २३ गतेदेखि सेवा सुरु गरेका श्रेष्ठले ५८ वर्ष उमेर हदका कारण राष्ट्र बैंकबाट बाहिरिएका हुन् ।

उनी २०७६ असार ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए । अर्थशास्त्रमा पिएचडी गरेका उनी हाल राष्ट्रिय योजना आयोगमा सदस्य छन् । राष्ट्र बैंकबाट अवकास भएपनि आयोगमा सदस्य भने कायमै रहनेछन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘सरकारले राष्ट्रिय योजना आयोगको सदस्यको महत्वपूर्ण जिम्मेदारीमा गत साउनदेखि राखेको र आफ्नो बुद्धि र विवेकले भ्याएसम्म यस संस्थाको जिम्मेवारी निर्वाहको भूमिका खेलिरहेको छु, थप अनुभव पनि भैरहेको छ। थप प्रभावकारीताको लागि यस संस्थाको राम्रै पुनरसंरचना गर्नु पर्ने देख्दछु ।’

श्रेष्ठ राष्ट्र बैंकमा लघुवित्त सुपरीवेक्षण, भुक्तानी प्रणाली विभागका साथै आर्थिक अनुसन्धान विभागको प्रमुख भएर काम गरेका छन् । यसअघि विष्णु पौडेल अर्थमन्त्री हुँदा आर्थिक सल्लाहकार बनेका थिए । उनी शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश योजना आयोगको उपाध्यक्ष रहेका थिए ।

राष्ट्र बैंकको गभर्नरका रुपमा चर्चामा रहेका उनले फागुनमा नै राजीनामा दिएका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राष्ट्र बैंककै क्याडर रहेको, जागिरको उत्तरार्धतिर गभर्नरको पद खाली हुन लागेको अवस्थामा नेपाल सरकारले गभर्नरको लागि मौद्रिक अर्थशास्त्री आवश्यक ठानेमा कानुनी र व्यावहारिक समस्या नरहोस भनेर समयमा नै राजिनामा दर्ता गराएको थिए । तर, आवश्यक नपर्ने बुझिए पछि राजिनामा निष्कृय भएको हो ।’

यस्तो छ उनको फेसबुक स्टाटस

अवकाश, भ्रम र नयाँ गर्भनरलाई बधाई

१. आजदेखि युवा अवस्थाको उर्वर समयको करिब साढे २७ वर्ष बिताएर नेपाल राष्ट्र बैंकको स्थायी जागिरबाट अनिवार्य अवकाशमा। उक्त संस्थाले जागिर अवधिमा उच्च अध्ययन, मौद्रिक नीति र केन्द्रीय बैंक‌सम्बन्धमा तालिम गोष्ठीमा सहभागी हुने अवसर दिलायो। छात्रवृत्तिमा उच्च अध्ययन गर्न जादा पनि केन्द्रीय बैंक‌लाई काम लाग्ने समष्टिगत, मौद्रिक र वित्तीय अर्थशास्त्रका विषयहरू बढी अध्ययन गरिए । पिचडीको शोध त “साना अर्थतन्त्रमा मौद्रिक नीति, बैंकिङ प्रणाली र विदेशी विनिमय सञ्चिति” रहेको थियो। आर्थिक अनुसन्धान विभाग सहित अन्य विभाग र कार्यालयमा रहेर निष्ठापूर्वक योगदान दिए जस्तो लाग्छ। यी सबै अवसरको लागि राष्ट्र बैंक लाई ह्रदयदेखि मुरी मुरी धन्यवाद। अझ, बेलाबखत नेपाल सरकारले दिने जिम्मेवारी निर्वाह गर्ने अवसर पनि प्रदान गर्यो । यसले गर्दा खारिने र अनुभव बढाउने अवसर मिल्यो । यस संस्थाको महानता कायम राख्न समयानुकूल थप सुधारको खाँचो भने अझै छ ।

२. राष्ट्र बैंककै क्याडर रहेको, जागिरको उत्तरार्ध तिर गभर्नरको पद खाली हुन लागेको अवस्थामा नेपाल सरकारले गभर्नरको लागि मौद्रिक अर्थशास्त्री आवश्यक ठानेमा कानुनी र व्यावहारिक समस्या नरहोस भनेर समयमा नै राजिनामा दर्ता गराएको थिए। तर, आवश्यक नपर्ने बुझिए पछि राजिनामा निष्कृय भएको हो। केही मिडियाले कामु गभर्नरले मेरो राजिनामा स्वीकृत नगरेको भन्ने गरेको कुरा सत्य होइन। केही ढिला भएपनि राष्ट्र बैंकले कृषि र स्रोत विज्ञ, आर्थिक इतिहासका जानकार गभर्नरको रूपमा पाएको छ । पक्कै पनि नयाँपन आउने छ ।‌ वहांलाई हार्दिक बधाई र कार्य सफलताको शुभकामना। यस सन्दर्भमा मेरो लागि अपेक्षा गरेर शुभकामना, सद्भाव र शुभेक्षा दिनु हुने सबैलाई धन्यबाद।

३.म अझै सार्वजनिक सेवामा नै छु, केही मिडियामा भ्रामक समाचार पनि छन्। नेपाल सरकारले राष्ट्रिय योजना आयोगको सदस्यको महत्वपूर्ण जिम्मेदारीमा गत साउनदेखि राखेको छ । आफ्नो बुद्धि र विवेकले भ्याएसम्म यस संस्थाको जिम्मेवारी निर्वाहको भूमिका खेलिरहेको छु, थप अनुभव पनि भैरहेको छ। थप प्रभावकारीताको लागि यस संस्थाको राम्रै पुनरसंरचना गर्नु पर्ने देख्दछु। भोलिका दिनमा सार्वजनिक सेवामा नरहे पनि शैक्षिक, बौद्धिक, सामाजिक, व्यावसायिक काम गरेर देशलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्न सक्ने देख्छु। खुला आकाशमा विचरणको पनि मजै आउने छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime