काठमाडौं । अब इसेवा मार्फत अनलाइन होटल बुकिङ अझै सहज र छिटो भएको छ ।
इसेवाले आफ्नो सेवा सूचीमा होटल बुकिङ सेवा पनि थप गरे सँगै होटल खोज्न र बुक गर्न फोन गर्नुपर्ने, वेबसाइट चहार्नुपर्ने झन्झट हटेको छ । इसेवाले वेबसाइट र मोबाइल एपमार्फत सहजै आफ्नो आवश्यकतानुसार होटल बुकिङ गर्न मिल्ने गरि सेवा सञ्चालन गरेको जनाएको छ ।
इसेवाले देशभर रहेका २ हजार भन्दा बढी होटललाई एउटै प्लेटफर्ममा ल्याउँदै आफ्ना प्रयोगकर्ताहरूलाई सजिलो र छिटो होटल बुकिङ गर्न मिल्ने सुविधा ल्याएको जनाएको छ ।
अहिलेसम्म मोबाइल रिचार्ज, बिजुली–पानीको बिल तिर्नेदेखि सरकारी सेवा शुल्क तिर्ने सम्मका कामलाई सहज बनाउँदै आएको इसेवाले, अब घुमघाम, व्यावसायिक यात्रा वा पारिवारिक कार्यक्रमका लागि होटल बुकिङ पनि सहज बनाएको जनाएको छ ।
केही ट्यापमै, आफ्नो आवश्यकता र बजेट अनुसार होटल बुकिङ गर्न सकिने भएकाले यो सुविधा अझ लोकप्रिय बन्ने र जनतामा अझ सहजता ल्याउने अनुमान गरिएको कम्पनीले जनाएको छ ।
इसेवा मार्फत सहजै होटल बुक गर्नका लागि इसेवा एप खोली होटल ट्याप गर्नपर्छ । त्यसपछि आफ्नोे गन्तव्य र प्रस्थान मिति चयन गर्नुपर्ने छ । उपलब्ध रहेका होटलहरूबाट आफुलाई उपयुक्त होटल रोज्नुपर्छ । सम्पूर्ण विवरण भरेर बुकिङ कन्फर्म गर्न सकिने छ । होटल बुक गरेपछि इसेवा वालेटबाट सहजै भुक्तानी गर्न सकिने छ ।
यसरी बुकिङ गरेपछि होटल बुकिङ भएको वा नभएको सम्बन्धी सबै जानकारी तुरुन्तै प्रयोगकर्ताको मोबाइलमै आउँछ । यो सेवाबाट सस्तो होटलदेखि सुविधासम्पन्न तारे होटलसम्म, आफ्नो आवश्यकता अनुसार छनोट गर्न सकिनेछ ।
अब होटल बुक गर्नका लागि अलग–अलग वेबसाइट वा एजेन्सी खोज्नुपर्ने छैन । एउटा एपमै सबै काम मिल्ने यो सुविधा, देशभरका प्रयोगकर्ताहरुका लागि उपयोगी हुने विश्वास गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्