तनहुँ । यहाँको देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा पुलसम्मको सडकमा ठेक्का सम्झौता म्याद सकिनु एक महिना अगावै कालोपत्रे सम्पन्न भएको छ ।
निर्माण कम्पनी दक्ष इन्जिनियिरिङ चितवनले सम्झौता अवधिभन्दा एक महिना अघि कालोपत्रे पूरा गरेको हो । सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार १३० मिटर लम्बाइको उक्त सडक कालोपत्रे गर्ने प्रयोजनका लागि सो कम्पनीसँग गत कात्तिक २७ गते सम्झौता भएको थियो । निर्माण सम्झौताअनुसार विसं आगामी असार २० गतेसम्ममा कालोपत्रे गर्नुपर्ने थियो ।
सडक डिभिजन कार्यालय चितवनमार्फत सो कालोपत्रे ठेक्का लगाइएको हो । कुल ७३० मिटर पक्की नालामध्ये ४०० मिटर सडक डिभिजन चितवनमार्फत र बाँकी ३३० मिटर सहरी विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार कार्यालय पोखरामार्फत गरिएको हो । उक्त सडक कालोपत्रेका लागि १ करोड ५६ लाख रुपैयाँ लागत इष्टमेट भए पनि ठेक्का प्रक्रियामार्फत निर्माण कम्पनीले १ करोड सात लाख ६५ हजार रुपैयाँमा निर्माण गरेको हो ।
देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ स्थित ठिमुरामा बनेको मोटरवेल पुल जोड्ने उक्त बाटो कच्ची हुँदा सर्वसाधारणलाई सास्ती थियो । सडक कालोपत्रे भएपछि सर्वसाधारणलाई आवतजावतमा सहज भएको देवघाट गाउँपालिका–५ का वडाध्यक्ष पूर्णबहादुर कुवरले बताए । उनले भने, ‘सडक कच्ची हुँदा धुलो र हिलोले स्थानीयवासी आजित थिए । अहिले नालासहित सडक कालोपत्रे सम्पन्न भएको छ ।’
प्रतिक्रिया दिनुहोस्