काठमाडौं । चालु आर्थिक वर्षको १० महिनासम्ममा सेयर धितोमा जाने कर्जामा ३९.३ प्रतिशत बढेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाखम्मको तथ्यांक अनुसार असार मसान्तको तुलनामा सेयर धितोकर्जा ३९.१ प्रतिशतले बढेको हो । यस अवधिमा सबैभन्दा धेरै सेयर धितोकर्जा ठूला लगानीकर्ताले लिएको राष्ट्र बैंकले तथ्यांकले देखाउछ ।
चालु आर्थिक वर्षको १० महिनामा लगानीकर्ताले मार्जिन प्रकृतिको कर्जा ३५ अर्ब ४२ करोड ७५ लाख रुपैयाँ लिएका छन् । असार मसान्तसम्म यस्तो कर्जा लगानी ९ अर्ब ६४ करोड ४९ लाख रुपैयाँ भएको थियो । राष्ट्र बैंकको तथ्यांक अनुसार हालसम्म मार्जिन प्रकृतिको कर्जा १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ लगानी भएको छ ।
यस अवधिमा सबैभन्दा धेरै कर्जा १ करोड माथिको कर्जा बढेको छ । १ करोड माथिको मार्जिन कर्जा चालु आवको १० महिनामा ५३.३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको १० महिनासम्म बैंक तथा वित्तीय संस्थाले १ करोड माथिको मार्जिन कर्जा ८५ अर्ब ७३ करोड ८२ हजार रुपैयाँ दिएका छन ।
वैशाखसम्म ५० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर धितो कर्जा २ अर्ब ६२ करोड रुपैयाँले बढेर १५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । १ करोड रुपैयाँसम्मको मार्जिन कर्जा गत असारको तुलनामा २१.१ प्रतिशतले बढेको हो । यसैगरी,२५ लाखदेखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा १५.३ प्रतिशत र २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा १०.८ प्रतिशतले बढेको हो ।
प्रतिक्रिया दिनुहोस्