Skip to content

विकास आयोजना निर्धारित समयमा सक्ने गरी काम गर्नुस्ः कार्यवाहक प्रधानमन्त्री

nabil bank

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणसम्बन्धी आयोजनाका काम निर्धारित समयसीमभित्र सक्नेगरी काम गर्न सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।

स्थानीय पूर्वाधार तथा विकास विभागको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई आज यहाँ सम्बोधन गर्दै उनले विभागलाई विकास निर्माणका आयोजनाहरू समयमा सम्पन्न गर्ने गरी काम गर्न आह्वान गरे । सहरी विकास मन्त्रालयअन्तर्गत रहेको स्थानीय पूर्वाधार विकास विभागले सडक पूर्वाधार, झोलुङ्गे पुल, सडक पुल, स्थानीय तहको प्रशासकीय भवन र साना सिँचाइ आयोजनाको काम गरिररहेको छ ।

‘विकास निर्माण र पूर्वाधारसँग सम्बन्धित काम समयमा सकियोस् भन्ने जनताको चाहना हुन्छ । उहाँहरूको चाहना पूरा गर्नेगरी काम गर्न लाग्नुस् । त्यसका लागि मनत्रालयबाट गर्नुपर्ने सहयोग प्राप्त हुनेछ’, उनले भने । गत वर्ष विभागको समग्र प्रगति ६५ प्रतिशत मात्र देखिएकामा असन्तुष्टि जनाउँदै उनले विगतका कमजोरी पहिचान गरी समाधान गर्दै आगामी वर्षमा उल्लेखनीय रूपमा वृद्धि गर्नुपर्नेमा जोड दिए।

कार्यवाहक प्रधानमन्त्री सिंहले अघिल्लो वर्षको समीक्षाबाट सिक्दै आगामी वर्षका योजनाहरू प्रभावकारी ढङ्गले कार्यान्वयन गर्दै समयमा काम सुरु गर्न पनि निर्देशन दिए । स्थानीय पूर्वाधार विकास विभागले चालु वर्षमा गर्ने योजनाहरू समयमा र गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘चालु आव २०८२/८३ मा गर्नुपर्ने योजनाहरूलाई कसरी प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने भन्नेमा ध्यान दिनुपर्छ । पूर्वाधार तथा विकास निर्माणदेखि विकट स्थानमा निर्माण भइरहेका झोलुङ्गे पुलहरूसमेत तोकिएको समयमा सम्पन्न हुनुपर्छ ।’

मन्त्रालयका सचिव गोपाल सिग्देलले कतिपय आयोजनाहरू ‘डुप्लिकेसन’ भएका भन्दै आयोजना क्षेत्र प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय गरी सुनिश्चित गरेर मात्रै काम अगाडि बढाउन विभागलाई निर्देशन दिए। विभागका महानिर्देशन महेशचन्द्र न्यौपानेले गत आव २०८१/८२ को वार्षिक प्रगति समीक्षासम्बन्धी प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime