एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट अमेरिका पठाइने सम्पूर्ण उत्पादनमाथि थप २५ प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यससँगै, भारतमाथि कुल ट्यारिफ दर ५० प्रतिशत पुगेको छ ।
ट्रम्पको आदेश अनुसार, यो नयाँ ट्यारिफ आदेश जारी भएको मितिले २१ दिनपछि लागू हुनेछ । यो निर्णयलाई लिएर भारतको विदेश मन्त्रालयले कडा आपत्ति जनाउँदै प्रतिक्रिया दिएको छ । मन्त्रालयले भनेको छ, “यो कदम अनुचित, अकारण र तर्कहीन छ ।”
अमेरिकाले भारतको रुसबाट तेल आयातलाई लिएर चासो व्यक्त गर्दै आएको थियो । यसै सन्दर्भमा भारतले स्पष्ट पारेको छ कि उसको ऊर्जा नीति बजारको अवस्था र १ अर्ब ४० करोड जनताको ऊर्जा सुरक्षामा आधारित छ । भारतले अमेरिकाको कदमलाई दुर्भाग्यपूर्ण भन्दै भनेको छ कि अन्य देशहरूले पनि आफ्नो राष्ट्रिय हितका लागि समान कार्य गरिरहेका छन्, तर अमेरिका केवल भारतलाई टार्गेट गर्दैछ ।
अमेरिकाको निर्णयले भारतको विपक्षी दल कांग्रेसलाई आक्रोशित बनाएको छ । कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशाना साध्दै भनेको छ, “मोदीका मित्र ट्रम्पले भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाएका छन्, तर मोदी चुप छन् ।” कांग्रेस नेता राहुल गान्धीले ट्रम्पको निर्णयलाई आर्थिक ब्ल्याकमेल भन्दै टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री मोदीले भारतको हितमा कडा जवाफ दिनुपर्ने बताए ।
ग्लोबल ट्रेड रिसर्च इनिशिएटिभका प्रमुख अजय श्रीवास्तवका अनुसार, यो निर्णयले भारतलाई अमेरिकातर्फको निर्यातमा गम्भीर असर पार्न सक्छ । उनी भन्छन्, “भारत अमेरिकामा वार्षिक ८६.५ अर्ब डलरको निर्यात गर्छ, जसमा कपडा, मेशिनरी जस्ता वस्तुहरू छन् । ट्यारिफका कारण यी वस्तुहरू महँगा हुनेछन् र निर्यातमा ४०–५० प्रतिशतसम्म गिरावट आउन सक्छ ।”
उनको भनाइमा, चीनले न् २०२४ मा रुसबाट भारतभन्दा धेरै तेल आयात गरेको भए पनि, अमेरिका चीनलाई सजाय दिन हिच्किचाइरहेको छ किनभने चीनले अमेरिकी रक्षा र प्रविधि क्षेत्रमा प्रयोग हुने महत्वपूर्ण कच्चा पदार्थहरूको आपूर्ति नियन्त्रण गर्छ । श्रीवास्तवले थप भने, “अमेरिकाले युरोपेली संघजस्ता आफ्ना सहयोगीहरूले रुससँग गर्ने व्यापारलाई पनि नजरअन्दाज गरेको छ, तर भारतलाई मात्रै दबाब दिएको छ ।”






प्रतिक्रिया दिनुहोस्