Skip to content

कुनै समय संसारका धनीमध्येका एक अनिल अम्बानीका चाल कसरी एकपछि अर्को गर्दै उल्टिए ?

nabil bank

बीबीसी । ‘एकपटक सफलता मिल्यो भने अर्को सफलता अझ सजिलै मिल्छ ।’

सन् २००४ मा बीबीसीलाई दिएको एक अन्तर्वार्तामा भारतीय उद्योपति अनिल अम्बानीले यो कुरा भनेका थिए । त्यो समय उनी त्यही रिलायन्स इन्डस्ट्रिजका लागि काम गरिरहेका थिए । जसको सुरुआत उनका पिता धिरुभाई अम्बानीले गरेका थिए र उनका दाजु मुकेश अम्बानीको साथ पनि उनीसँग थियो ।

तर केही महिनामै घटनाक्रम तीव्र गतिमा बदलियो र दुवै दाजुभाइले परिवारको व्यवसायलाई दुई भागमा बाँडे ।
अनिललाई त्यो मिल्यो, जुन उनी चाहन्थे वा जसको झलक उनको व्यक्तित्वमा देखिन्थ्यो । उनले टेलिकम, वित्तीय सेवा र ऊर्जाको कारोबार पाए ।

यद्यपि रिलायन्स समूहको मुख्य कारोबार पेट्रोकेमिकल्स थियो, तर आत्मविश्वासले भरिपूर्ण र दौडन मन पराउने अनिललाई नयाँ जमानाका यी कारोबारमा प्रगतिको बढी सम्भावना देखिन्थ्यो । भारत टेलिकम क्रान्तिको मोडमा उभिएको थियो र ऊर्जा, बीमा र वित्तीय सेवाका लागि विदेशी लगानीका ढोका खोल्दै थियो ।

यस्तो अवस्थामा अनिल अम्बानीले सन् २००६ मा अनिल धिरुभाई अंबानी समूहको स्थापना गरेका थिए । धेरै विश्लेषकहरू पनि अनिलको नेतृत्वमा रहेको रिलायन्स समूहमा दाउ लगाइरहेका थिए । सन् २००८ मा उनले रिलायन्स पावरको आईपीओ सार्वजनिक गरे ।

यो भारतीय सेयर बजारका लागि ऐतिहासिक क्षण थियो, किनकि केही मिनेटमै आईपीओ ओभर–सब्स्क्राइब भएको थियो । जति सेयर अफर गरिएको थियो, त्यसको करिब ६९ गुणा सेयर खरिदका लागि आवेदन आएका थिए । यो त्यतिबेला भारतको सबैभन्दा ठूलो आईपीओ थियो ।

सन् २००८ मा फोब्र्स पत्रिकाको सर्वेक्षणमा अनिल अम्बानी ४२ अर्ब डलरको सम्पत्तिसहित संसारका छैटौं सबैभन्दा धनी व्यक्ति बनेका थिए ।

लगातारको उल्टो चाल
पेन्सिलभेनिया विश्वविद्यालयको व्हार्टनबाट एमबीए गरेका अनिल अम्बानीले पावरको कम्पनी त बनाए, तर दाजु मुकेश अम्बानीसँगको झगडा टुंगिएन र यो झगडाले यस कारोबारमा अवरोध ल्यायो ।

वरिष्ठ पत्रकार पवन कुमार भन्छन्, “अनिल अम्बानीले दादरी ग्यास परियोजना सुरु गरे । यसका लागि कृष्णा गोदावरी बेसिन (केजिडी–६) बाट सस्तो दरमा ग्यास पाउनु थियो । केजिडी–६ को स्वामित्व मुकेश अम्बानीको हातमा थियो । उनले सस्तो दरमा ग्यास दिन अस्वीकार गरे । यो लडाइँ सर्वोच्च अदालतसम्म पुग्यो ।”

सन् २०१० मा सर्वोच्च अदालतले दुवै दाजुभाइ (अनिल र मुकेश) परिवारको सम्झौता नयाँ ढंगबाट तय हुनुपर्ने आदेश दियो । साथै, अदालतले ग्यासको मूल्य निर्धारण गर्ने अधिकार सरकारलाई दियो ।

नयाँ सम्झौताअनुसार, ग्यासको मूल्य ४.२ डलर प्रति मिलियन मेट्रिक ब्रिटिश थर्मल युनिट तोकियो, जबकि २००५ मा दुवै दाजुभाइबीचको १७ वर्षसम्मका लागि मूल्य २.३४ डलर प्रति मिलियन मेट्रिक ब्रिटिश थर्मल युनिट तोकिएको थियो ।

यस बाहेक अनिल अम्बानीले दक्षिण अफ्रिकाको टेलिकम कम्पनी एमटीएनसँग सम्झौता गर्ने प्रयास गरे, तर यो डिल पनि सफल हुन सकेन ।

टेलिकममा विस्तारको अपार सम्भावना त थियो, तर त्यहाँ भारी लगानीको उत्तिकै आवश्यकता पनि थियो ।

पत्रकार असीम मञ्चन्दा भन्छन्, “यस्तो देखिन थालेको थियो कि अनिल अम्बानीले चालेका हरेक कदम उल्टो हुन थालेका छन्, अनिल त्यस्ता परियोजनामा हाम फाल्थे, जसमा हजारौं करोड रुपैयाँको आवश्यकता पथ्र्यो । उनी विदेशमा कम्पनी खरिद र आफ्नो साम्राज्य विस्तारमा खुला हातले खर्च गर्थे ।”

सन् २००८ मा अमेरिकामा लेहम्यान ब्रदर्सको पतनसँगै सम्पूर्ण संसार आर्थिक मन्दीको चपेटामा प¥यो । अनिल अम्बानी पनि यसबाट अछुतो रहेनन् । पत्रकार पवनकुमार भन्छन्, “लेहम्यान ब्रदर्स मामलापछि भारतमा पनि बैंकिङ क्षेत्रमा नियम कडा बनाए, उद्योगपतिहरूलाई ऋण पाउन गाह्रो हुन थाल्यो, अनिल अम्बानी आफ्नो कारोबार विस्तार गर्दै थिए र उनलाई पूँजीको आवश्यकता थियो, तर अब उनीसँग यसको चर्को कमी थियो ।” सन् २०११ मा २जी स्पेक्ट्रमको भनिएको भ्रष्टाचारमा केन्द्रीय अनुसन्धान ब्युरोले अनिल अम्बानीसँग सोधपुछ समेत ग¥यो ।

चमकधमकपूर्ण कार्यशैली


जब अनिलले रिलायन्स–अनिल धिरुभाई अम्बानी समूहको अध्यक्ष पद सम्हाले, उनको भव्य र चमकधमकपूर्ण कार्यशैली स्पष्ट देखिन थाल्यो ।

अनिल अम्बानी प्रायः मिडियामा निकै चर्चामा रहने गर्थे ।

असीम मञ्चन्दा भन्छन्, “अनिल अम्बानी आफ्नो टेलिकम कारोबारसँग सम्बन्धित सानो–सानो घोषणा गर्नका लागि पनि पत्रकार सम्मेलन बोलाउँथे, उनी आफ्ना अधिकृतहरूलाई यसको विस्तृत प्रस्तुति दिन लगाउँथे ।”

एक घटनालाई सम्झँदै उनी भन्छन्, “दिल्लीस्थित सञ्चार भवनमा उनको धेरै आउजाउ हुन्थ्यो, कहिलेकाहीँ उनी सञ्चार भवनको पछाडि रहेको समाचार संस्था यूएनआईको क्यान्टिनमा पुग्थे र त्यहाँ पत्रकारहरूसँग भेट्थे ।”
उनको अमिताभ बच्चनसहित बलिउडका धेरै कलाकारहरूसँग नजिकको सम्बन्ध थियो र समाजवादी पार्टीका नेता अमर सिंहसँग पनि उनलाई प्रायः देखिन्थ्यो ।

अनिलको बलिउडसँगको मोह पुरानो हो । उनले प्रसिद्ध अभिनेत्री टिना मुनीमसँग सन् १९९१ मा विवाह गरेका थिए । आफ्नो कारोबार विस्तार गर्दै अनिल अम्बानीले मनोरञ्जन क्षेत्रमा पनि पाइला टेके ।

उनले फिल्म निर्माता स्टीवन स्पिलबर्गको ड्रिमवक्र्स स्टुडियोसँग साझेदारी गरेर फिल्म निर्माण गरे । उनले मल्टिप्लेक्स चेन एडलैब्स खरिद गरे र सन् २००८ सम्म भारत र विदेशमा ७०० स्क्रिनसहित सबैभन्दा ठूलो मल्टिप्लेक्स मालिक बने ।

रिलायन्स कम्युनिकेशन्सको ‘गलत डायल’

सन् २००२ मा जब रिलायन्स इन्फोकम सुरु भएको थियो, यसले सिडिएमए प्रविधि रोज्यो । तत्कालीन समयमा यो एउटा उदीयमान प्रविधि भएको र प्रतिस्पर्धी अपरेटरहरू, जस्तै एयरटेल र हचिसनको जिएसएम प्रविधिभन्दा राम्रो भएको दाबी गरिएको थियो ।

तर सिडिएमए टुजी र थ्रीजीमा सीमित थियो । जब भारतमा फोरजी र फाइभजी सेवाहरू सुरु भए, आरकोम निकै पछि पर्न थाल्यो । अवस्था यस्तो भयो कि कम्पनीले टेलिकमको कारोबारबाट हात झिक्नु नै राम्रो ठान्यो ।

अनिल अम्बानीले सेप्टेम्बर २०१८ मा रिलायन्स कम्युनिकेशन्सका सेयरधारकहरूको वार्षिक बैठकमा घोषणा गरे । उनले आफूहरु अब यो क्षेत्रमा अगाडि नबढ्ने घोषणा समेत गरे ।तर अनिलका समस्या यत्तिमै सकिएनन् ।

असीम मञ्चन्दा भन्छन्, “अनिलले आफ्नो टेलिकम सम्पत्ति दाजु मुकेशको रिलायन्स जियोलाई १८ हजार करोड भारतीय रुपैयाँमा बेच्ने सम्झौता गरेका थिए । तर यो डिल त्यतिबेला भंग भयो, जब दूरसञ्चार विभागले जियोलाई रिलायन्स कम्युनिकेशन्सको बक्यौता पनि तिर्नुपर्छ भन्यो । जुन कुरा जियोले मान्न अस्वीकार ग¥यो ।

राफालबाट केही राहत
अनिल अम्बानीले सन् २०१५ मा पिपावाव डिफेन्स एन्ड अफशोर इन्जिनियरिङलाई २,०८२ करोड भारुमा खरिद गरे । उनको उद्देश्य रक्षा क्षेत्रमा प्रवेश गर्ने थियो, तर यहाँ पनि विवादले उनलाई छोडेन । विपक्षी दल कांग्रेसले अनिल अम्बानीमाथि राफाल लडाकु विमान अफसेट सम्झौतामा अनुचित लाभ लिएको आरोप लगायो ।

राहुल गान्धीले ७ मार्च २०१९ मा दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, “अनिल अम्बानीलाई ३० हजार करोड भारु रुपैयाँ दिलाउनकै लागि राफाल डिलमा ढिलाइ गरियो । हाम्रो (यूपीए) सरकारले गरेको सम्झौताअनुसार भएसम्म अहिले राफाल विमान भारतमा भइसकेको हुन्थ्यो ।”

व्यावसायिक मन्दी कि गलत व्यवस्थापन ?
अनिल अम्बानीका कम्पनीहरू व्यापारिक मन्दीको सिकार भए वा गलत व्यवस्थापनको कारण यो हालत भएको हो ?

पत्रकार पवन कुमार भन्छन्, “मलाई लाग्छ यी दुवै कारण भए । अनिल अम्बानी आफ्नो कारोबारमा केन्द्रित हुन सकेनन् । उनी एउटा व्यवसायमा असफल भए भने अर्को व्यवसायतर्फ मोडिन्थे । निस्सन्देह, उनले हरेक त्यस्तो क्षेत्रमा पाइला टेके, जुन लाभदायक हुन सक्थ्यो, तर व्यवसाय चलाउन पर्याप्त नगद चाहिन्छ, जुन उनको हातमा थिएन ।”

कम्पनीहरूको खराब अवस्था
कुनै समय विश्वका छैटौं सबैभन्दा धनी व्यक्ति रहेका अनिल अम्बानीविरुद्ध अहिले ऋण ठगीदेखि सम्पत्ति शुद्धीकरणसम्मका मुद्दा चलिरहेका छन् । सन् २०२० मा चीनका बैंकको ऋणसम्बन्धी विवादमा इंग्ल्यान्डको उच्च अदालतमा सुनुवाइका क्रममा अनिल अम्बानीले आफू टाट पल्टिएको र ऋण तिर्न असमर्थ भएको स्वीकार गरेका थिए ।

अनिलका वकिलले आफ्नो तर्कमा भनेका थिए, “अनिल अम्बानीको शुद्ध सम्पत्ति शून्य हो, उनी टाट पल्टिएका छन् । त्यसैले बक्यौता तिर्न सक्दैनन् । परिवारका सदस्यहरूले पनि उनलाई सहयोग गर्न सक्दैनन् ।”

अनिल अम्बानीका कम्पनीहरूसँग जोडिएको करिब १७ हजार करोड भारतीय रुपैयाँको ऋण ठगीको अनुसन्धान भइरहेको छ ।

सम्पत्ति शुद्धीकरणमा प्रवर्तन निर्देशनालयले अनिल अंबानीसँग सोधपुछ समेत गरेको छ । यसले उनको समूह कम्पनीका सेयरधारकलाई मात्र होइन, अनिलको आफ्नै बाँकी रहेको हिस्सेदारीको मूल्यलाई पनि ‘सफा चट’ बनाइरहेको छ । पछिल्लो एक महिनामा रिलायन्स इन्फ्रास्ट्रक्चरको सेयरमा २८ प्रतिशत गिरावट आएको छ ।

त्यस्तै, रिलायन्स पावरको सेयर पछिल्ला पाँच–छ कारोबारी सत्रमा करिब २० प्रतिशतसम्म घटिसकेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime