Skip to content

नक्कली बोस, नक्कली कार्यालय तर पैसा सक्कली, चीनमा किन बढिरहेको छ यस्ता कम्पनीको व्यापार ?

nabil bank

बीबीसी । कसैले पनि बिना तलबको काम गर्न चाहँदैन, र त्यसभन्दा पनि खराब कुरा भनेको काम गर्नका लागि आफ्नै बासलाई पैसा दिनु हो ।

तर चीनमा युवा र बेरोजगारहरूबीच कम्पनीलाई पैसा तिरेर उनीहरूका लागि काम गरेको जस्तो देखाउने प्रवृत्ति लोकप्रिय हुँदै गएको छ । यस्ता सेवा दिने कम्पनीहरूको सङ्ख्या पनि बढिरहेको छ ।

चीनको सुस्त अर्थतन्त्र र रोजगारीको बजारबीच यो चलन बढेको हो । वास्तविक रोजगारी पाउनु अहिले कठिन भएकोले, केहीले घरमा खाली बस्नेभन्दा पैसा तिरेर अफिस जानु नै उत्तम ठान्छन् ।

३० वर्षीय शुई झोउको खाद्य व्यवसाय गत वर्ष असफल भयो । यस वर्ष अप्रिलमा उनले डोङगुआन शहरमा नक्कली अफिस सञ्चालन गर्ने ‘प्रिटेन्ड टु वर्क’ कम्पनीलाई दैनिक ३० युआन (४.२० डलर) तिर्न सुरु गरे । डोङगुआन, हङकङबाट ११४ किलोमिटर उत्तरतर्फ पर्छ ।

त्यहाँ शुई पाँच जना ‘सहकर्मी’सँग बस्छन्, जो सबैले यही काम गरिरहेका छन् । शुई भन्छन्, “मलाई खुशी लाग्छ । यस्तो लाग्छ कि हामी एउटा समूहमा सँगै काम गरिरहेका छौँ ।”

यस्ता नक्कली अफिसहरू अहिले चीनका धेरै ठूला शहरहरूमा खुलिरहेका छन् । यसमा सेन्जेन, शाङहाइ, नान्जिङ, वुहान, चेङडु र कुनमिङ जस्ता शहरहरू पर्छन् । प्रायः यी पूरै कार्यरत अफिसझैँ देखिन्छन्, जसमा कम्प्युटर, इन्टरनेट कनेक्सन, मिटिङ रुम र चिया–कफी कोठा समेत हुन्छन् ।

यी अफिसमा बस्नेहरूले समय बिताउने मात्र होइन, कम्प्युटर प्रयोग गरेर रोजगारी खोज्न वा आफ्नै स्टार्टअप सुरु गर्ने कोसिस पनि गर्न सक्छन् । यसका लागि दैनिक ३० देखि ५० युआन खर्च गर्नुपर्छ । कहिलेकाहीँ यही शुल्कमा लन्च, स्न्याक्स र केही पिउने सामग्री पनि पाइन्छ ।

यस्ता अफिसहरूको लोकप्रियता त्यस समयमा बढेको हो, जब चीनमा युवाहरूको बेरोजगारी दर १४ प्रतिशतभन्दा बढी छ । यसको अर्थ, उत्कृष्ट विश्वविद्यालयबाट स्नातक गरेका मानिसहरू पनि रोजगारीका लागि संघर्ष गरिरहेका छन् ।

चिनियाँ सरकारी तथ्याङ्कअनुसार, यस वर्ष रोजगारी बजारमा प्रवेश गर्ने स्नातकहरूको सङ्ख्या १ करोड २२ लाख पुग्ने अनुमान छ । यो अहिलेसम्मकै सबैभन्दा ठूलो सङ्ख्या हो ।

न्यूजिल्यान्डको भिक्टोरिया युनिभर्सिटी अफ वेल्लिङटनको स्कूल अफ म्यानेजमेन्टका वरिष्ठ व्याख्याता डा क्रिश्चियन याओ चीनको अर्थतन्त्रका जानकार हुन् । उनी भन्छन्, “काम गरेको जस्तो देखाउने कुरा अहिले धेरै सामान्य भएको छ, आर्थिक परिवर्तन, शिक्षा र रोजगारी बजारबीचको असन्तुलनका कारण युवाहरूलाई त्यस्ता स्थानको आवश्यकता पर्छ, जहाँ उनीहरूले आफ्नो भविष्यबारे सोच्न सकून् वा संक्रमणको समयमा सानो–मोटो काम गर्न सकून् ।”

डा क्रिश्चियन याओ भन्छन्, “काम गरेको नाटक गर्ने कम्पनीहरू यस्तै अस्थायी उपायमध्येका एक हुन् ।”

शुई झोउलाई ‘काम गरेको जस्तो देखाउने’ कम्पनीबारे सामाजिक सञ्जाल प्लेटफर्म सियाओहोंगशुमा थाहा भयो । उनको भनाइमा, उनलाई लाग्यो अफिसको वातावरणले आत्मअनुशासनलाई सुधार्नेछ । शुई तीन महिनाभन्दा बढी समयदेखि त्यहाँ जान थालेका छन् ।

शुईले अफिसका तस्बिरहरू आफ्ना आमाबुबालाई पठाए, र उनको भनाइमा अब उनका आमाबुबा उनको रोजगारीबारे पहिलेको तुलनामा कम चिन्ता गर्छन् ।

यद्यपि त्यहाँ आउन–जानको कुनै निश्चित समय छैन, तर शुई प्रायः बिहान ८ देखि ९ बीचमा अफिस पुग्छन् । कहिलेकाहीँ उनी राति ११ बजेसम्म त्यहीं बस्छन् र कम्पनीको म्यानेजर नजाँदासम्म घर फर्किँदैनन् ।

उनी भन्छन्, त्यहाँका अरू मानिसहरू अब उनका साथी बनेका छन् । शुईको भनाइमा, जब कोही रोजगारी खोज्नमा व्यस्त हुन्छ, तब कडा मेहनत गर्छ, तर खाली समयमा सबै कुरा गर्छन्,, गफ गर्छन्, मजाक गर्छन् र खेल खेल्छन् । प्रायः उनीहरूले कामपछि सँगै खाना पनि खान्छन् । शुईलाई यो ‘टिम भावना’ मन पर्छ र उनी अब पहिलेभन्दा धेरै खुशी छन् ।

नक्कली अफिसमा आउने कारण के हो?
सियाओवेन ताङले यस वर्षको सुरुवातमा शाङहाइमा एक महिनाका लागि काम गरेको जस्तो देखाउने कम्पनीबाट वर्कस्टेशन भाडामा लिइन् । २३ वर्षीया ताङ गत वर्ष स्नातक भइन् र अहिलेसम्म उनलाई कुनै स्थायी रोजगारी मिलेको छैन ।

उनको विश्वविद्यालयको नियम अनुसार, स्नातक भएपछि एक वर्षभित्र विद्यार्थीहरूले रोजगारीको सम्झौता गर्नुपर्छ वा इन्टर्नशिपको प्रमाणपत्र दिनुपर्छ, नत्र उनीहरूले डिप्लोमाको प्रमाणपत्र पाउँदैनन् ।

सियाओवेन ताङले अफिसको तस्बिर इन्टर्नशिपको प्रमाणका रूपमा विश्वविद्यालयमा पठाइन् । वास्तवमा ताङले नक्कली अफिसको दैनिक शुल्क तिरेर त्यहाँ बसेर अनलाइन उपन्यास लेख्थिन्, जसबाट उनलाई केही खर्च पैसा मिल्थ्यो । ताङ भन्छिन्, “यदि नाटक गर्नै पर्छ भने, अन्त्यसम्म नाटक गर ।”

जर्मनीको म्याक्स प्लाङ्क इन्स्टिच्युट फर सोसल एनथ्रोपोलोजीका निर्देशक डा बियाओ सियाङ चीनमा ‘काम गरेको जस्तो देखाउने’ प्रवृत्ति रोजगारीको कमीबाट उत्पन्न ‘हताशा र लाचारी’को भावनाबाट आएको बताउँछन् ।

उनी भन्छन्, “काम गरेको नाटक यस्तो कुरा हो जसलाई युवाहरूले आफैंका लागि खोज्छन्, जसबाट उनीहरूले मुख्यधारको समाजसँग केही दूरी बनाएर आफ्ना लागि केही स्थान बनाउन सक्छन् ।”

डोङगुआन शहरमा ‘काम गरेको जस्तो देखाउने’ कम्पनीका मालिक फेइयु (काल्पनिक नाम) ३० वर्षका छन् । उनी भन्छन्, “म वर्कस्टेशन बेचिरहेको छैन, बरु म इज्जत बेचिरहेको छु र तपाईं बेकार मानिस होइन भनेर जनाइरहेको छु ।”

फेइयुले पनि पहिले बेरोजगारीको समस्या भोगेका थिए । कोभिड महामारीको समयमा उनको खुद्रा व्यापार बन्द भएको थिया े। उनी सम्झन्छन्, “म धेरै उदास भएँ र अलि आत्मघाती पनि ।” उनी भन्छन्, “तपाईं परिस्थिती बदल्न चाहनुहुन्छ, तर तपाईं लाचार हुनुहुन्छ ।”

यस वर्ष अप्रिलमा उनले ‘प्रिटेन्ड टु वर्क’को विज्ञापन दिए र एक महिनाभित्र सबै वर्कस्टेशन भरिए । अब नयाँ इच्छुकहरूले आवेदन दिनुपर्छ । फेइयुको भनाइमा, उनका ४० प्रतिशत ग्राहक हालैका स्नातक तह पूरा गर्नेहरु हुन् । यी मानिसहरू आफ्ना पुराना शिक्षकलाई इन्टर्नशिपको प्रमाण देखाउन यहाँ फोटो खिच्न आउँछन् भने बाँकी केही ग्राहकहरू भने आमाबुबाको दबाबसँग जुध्नका लागि यहाँ आउँछन् ।

बाँकी ६० प्रतिशत ग्राहक स्वतन्त्र व्यवसायी (फ्रिलान्सर) हुन् । तीमध्ये धेरै डिजिटल नोमाड छन् । तीमध्ये ठूला ई–कमर्स कम्पनीका लागि काम गर्ने र अनलाइन सामग्री लेख्नेहरू पनि पर्छन् । ग्राहकहरूको औसत उमेर करिब ३० वर्ष छ, जबकि सबैभन्दा कम उमेरको ग्राहक २५ वर्षको छ ।

आधिकारिक रूपमा यस्ता मानिसहरूलाई ‘फ्लेक्सिबल एम्प्लोयमेन्ट प्रोफेशनल’ भनिन्छ । यसमा राइड–हेलिङ र ट्रक चालकहरू पनि पर्छन् ।

फेइयु भन्छन्, दीर्घकालीन हिसाबले यो व्यवसाय लाभदायक रहने हो कि होइन भन्नेमा शंका छ । बरु उनी यसलाई एउटा सामाजिक प्रयोगका रूपमा हेर्न चाहन्छन् । उनी भन्छन्, “यो इज्जत बचाइराख्नका लागि झूटको प्रयोग हो, तर यसले केही मानिसलाई सत्य खोज्ने मौका दिन्छ, यदि हामीले केवल यसबाट अभिनय सीप बढाउन मद्दत गरिरहेका छौँ भने, हामी भ्रममा छौँ ।”

उनी भन्छन्, “केवल तब मात्र यो सामाजिक प्रयोग साँच्चै सफल हुनेछ, जब हामीले उनीहरूको नक्कली अफिसलाई वास्तविक सुरुवातमा बदल्न मद्दत गर्नेछौँ ।” शुई झोउ अहिले आफ्नो अधिकांश समय एआई सीप सुधार्नमा खर्च गरिरहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime