Skip to content

भियतनाममा टाइफुन काजिकीका कारण मृत्यु हुनेको सङ्ख्या बढ्यो

nabil bank
People sit on chairs looking at a flooded street following the passage of Typhoon Kajiki in Hanoi on August 26, 2025. Vietnam evacuated tens of thousands of residents from coastal areas on August 25, as Typhoon Kajiki made landfall, lashing the country's central belt with gales of more than 130 kilometres per hour. (Photo by Minh Tri / AFP)

हनोइ । भियतनाममा टाइफुन काजिकीका कारण मंगलबारसम्म मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । उखेलिएका रूख र बिजुलीका तारले अराजकता ल्याउँदा उद्धारकर्मीको ज्यान गएको छ । राजधानी हनोईसहित धेरै क्षेत्रमा भीषण बाढी र आँधीले दैनिक जीवन अस्तव्यस्त बनाएको छ ।

सोमबार मध्य भियतनाममा आएको आँधीले १३० किमी प्रतिघण्टा (८० माइल प्रतिघण्टा) को वेगमा चलेको हावाले हजारौँ घरका छत उडाएको छ भने र १६ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएका छन् ।

मंगलबारसम्म तीन जनाको मृत्यु र १३ जना घाइते भएको पुष्टि भएको छ । अधिकारीहरूले आठ प्रान्तमा आकस्मिक बाढी र भूस्खलनको चेतावनी जारी गरेका छन् ।

भिन्हमा सैनिक र उद्धारकर्मीहरूले काट्ने उपकरण प्रयोग गरी सडक अवरुद्ध गर्ने दर्जनौं रूख र छतका प्यानल हटाइरहेका थिए । ‘एउटा भवनको आठौँ तलाबाट ठूलो स्टिलको छत उडेर सडकमा खस्यो, भाग्यवश कसैलाई चोट लागेन’, ६५ वर्षीय ट्रान भ्यान हङले भने ।

भियतनाम बर्सेनि टाइफुनको मारमा पर्छ, तर जलवायु परिवर्तनका कारण यी आँधीबेहरी अझै तीव्र र अप्रत्याशित बन्दै गएका छन् । यसले उष्णकटिबन्धीय क्षेत्रमा बाढी र विनाशकारी आँधीबेहरीको सम्भावना बढाएको विज्ञहरूले चेतावनी दिएका छन् ।

भिन्हकी ६० वर्षीया गुयेन थी होआले भने, ‘हामीलाई वर्षा र बाढीको बानी परिसकेको छ तर हिजो जस्तो तीव्र हावा र त्यसको विनाशकारी प्रभाव पहिले कहिल्यै अनुभव गरेको थिइनँ ।’

बाढीका कारण भित्री पहाडी क्षेत्रका २७ गाउँ अलगिएका छन् भने ४४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

हनोइमा अराजकता

राजधानी हनोइमा भारी वर्षाले सडक डुबाउँदा बिहानैदेखि यातायात पूर्ण रूपमा अस्तव्यस्त बनेको छ । ‘आज बिहान पैदल हिँड्नै असम्भव थियो, घरअगाडिको आँगनसमेत बाढीले भरिएको छ’, ४४ वर्षीया न्गुयेन थु लानले भने ।

अर्का बासिन्दा ट्रान लु फुकले भने, ‘म एक घण्टाभन्दा बढी सडकमा फसेँ । कालो पानीमा गाडीहरू अड्किएर ठूलो लगजाम भयो । ट्राफिक र बाढी दुवै डरलाग्दो थियो ।’

प्रहार गरेपछि कमजोर बनेको काजिकी पश्चिमतर्फ लाओस पस्दा त्यहाँ पनि तीव्र वर्षा ल्यायो । लाओस–चीन रेलमार्गले सोमबार र मङ्गलबार सबै सेवा रोकेको छ भने केही सडक विच्छेद भएका छन् तर मृत्युको समाचार आएको छैन ।

कृषि मन्त्रालयका अनुसार, यस वर्षको पहिलो सात महिनामै प्राकृतिक प्रकोपले भियतनाममा एक सयभन्दा बढी मानिस मारिएका वा हराएका छन् ।

गत सेप्टेम्बरमा आएको टाइफुन यागीले भियतनाम, लाओस, थाइल्यान्ड र म्यान्मामा सात सयभन्दा बढी मानिसको ज्यान लिएको र अर्बौं डलरको क्षति गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime