काठमाडौं । सांसदहरुले माइतीघरमा आन्दोलनरत उखु किसानका माग समयमै पूरा गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उहाँहरुले उखु किसानको मनोबल वृद्धि गर्न उनीहरुको माग पूरा गर्नुपर्ने र वार्ताको वातावरण तय गर्नुपर्नेमा जोड दिएका हुन् ।
सांसद गणेश पराजुलीले उखु किसानका माग समयमै सम्बोधन गर्न आग्रह गरे । उनले लिम्पियाधुरा नेपालकै रहेको प्रमाण रहेको उल्लेख गर्दै लिपुलेक मार्ग प्रयोग गर्न भारत र चीनबीच भएको सम्झौता गलत रहेको बताए । उनले यस विषयमा कूटनीतिक संवाद गर्न सरकारसँग आग्रह गरे।
सांसद ज्ञानबहादुर शाहीले लिपुलेक र लिम्पियाधुराको विषयमा संयुक्त राष्ट्रसङ्घमा कुरा उठाउनुपर्ने बताए । उनले उखु किसानको अनुदान घटाइएको भन्दै उनीहरुको माग समयमै सम्बोधन गर्न आग्रह गरे । सांसद नारायणप्रसाद साउदले पनि उखु किसान अन्यायमा परेको भन्दै उनीहरुको बक्यौता रकम समयमै उपलब्ध गराउनुपर्नेमा जोड दिए।
सांसद अच्युतप्रसाद मैनालीले वन्यजन्तुको आक्रमणका कारण मानवीय क्षति तथा अन्नबाली क्षति भएको जिकिर गर्दै मानव–वन्यजन्तु द्वन्द्व घटाउन पहल गर्न सरकारलाई आग्रह गरे । ‘बाघको सङ्ख्या बढे पनि बासस्थान चुनौती बनेको छ । बाघ बढेसँगै सर्वसाधारण आक्रमणमा परेका छन् । वन्यजन्तुको बासस्थान व्यवस्थित गर्नुपर्छ,’ उनले भने ।
सांसद देवेन्द्र पौडेलले उखु किसानको अनुदान कटौती गर्न नहुनेमा जोड दिए । ‘किसानले अनुदानमा मल पाउने कुरालाई पनि सरकारले गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भने । सांसद कृष्णकुमार श्रेष्ठले वन्यजन्तुले आक्रमण गर्न थालेपछि सर्वसाधारण सुरक्षित नरहेको भन्दै वन्यजन्तु नियन्त्रणमा सरकारले चासो नदिएको गुनासो गरे ।
सांसद नागिना यादवले काठमाडौं महानगरपालिकाले गरेको तोडफोडविरुद्ध कबाडी व्यवसायी आन्दोलनरत रहेको उल्लेख गर्दै उनीहरुलाई वार्तामा बोलाएर माग सम्बोधन गर्न आग्रह गरे । सांसद प्रभु हजराले वीरगञ्जमा हैजा प्रकोप फैलिरहेको भन्दै समयमै त्यसको नियन्त्रण गर्न जोड दिए।
सांसद शक्तिबहादुर बस्नेतले किसानले गत वर्ष पाउनुपर्ने करिब रु एक अर्ब ५० करोड भुक्तानी पाउन नसकेको जिकिर गर्दै आन्दोलनरत किसानका माग पूरा गर्न सरकार तत्पर रहनुपर्नेमा जोड दिए । सांसद प्रभु साहले कबाडी व्यवसायी र उखु किसानका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे ।
सांसद ठाकुरप्रसाद गैरेले ज्येष्ठ नागरिक र सामाजिक सुरक्षाअन्तर्गत सुविधा लिने नागरिक बायोमेट्रिकका लागि वडा कार्यालय धाए पनि ‘सर्भर डाउन’ भएको भन्दै उनीहरुले दुःख पाइरहेको बताए । ‘त्यस्ता अशक्त नागरिकहरु चार दिनसम्म वडा कार्यालय धाउँदा पनि काम नभएको पाइयो, उनीहरुलाई घर–घर गएर सुविधा दिनुपर्छ,’ उनले भने ।
सांसदहरु किरणकुमार साह, सूर्यमान तामाङ (दोङ) र शेरबहादुर कुँवरले पनि उखु किसानका माग सम्बोधन गर्नुपर्नेलगायत अन्य समसामयिक विषयमा धारणा राखे ।






प्रतिक्रिया दिनुहोस्