Skip to content

चीन भ्रमणका बारेमा प्रधानमन्त्री ओलीले गराए संसदलाई जानकारी, यस्तो छ भ्रमणको कार्यसूची

nabil bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब हुन लागेको आफ्नो चीन भ्रमणको बारेमा संसदमा जानकारी गराएका छन् । आज प्रतिनिधि सभाको बैठकमा ओलीले भ्रमणका बारेमा जानकारी गराएका हुन् ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ देखि १८ गतेसम्म चीन जान लागेको बताए । ५ दिनसम्म चल्ने भ्रमणको मूल उद्देश्य चीनको थियानजिन शहरमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (शाङ्घाई कोअपरेशन अर्गनाइजेशन) को शिखर सम्मेलनमा भाग लिनु रहेको ओलीले बताए । उनले शाङ्घाई सहयोग संगठन (एससिओ) सन् २००१ मा स्थापना भएको र आज विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनहरूमध्ये एकको रूपमा विकसित भइसकेको बताए ।

चीन, रूस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान, र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू रहेका छन् भने अफगानिस्तान र मंगोलिया पर्यवेक्षक राष्ट्रहरू रहेका छन् । नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स शाङ्घाई सहयोग संगठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् ।

नेपाल, सन् २०१६ देखि संगठनको संवाद साझेदार रहँदै आएको छ ।

प्रधानमन्त्री ओलीले आजको बैठकमा नेपालको प्रयास संगठनमा नेपालको सहभागिताको स्तर अभिबृद्धि गर्नु, समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा नेपालको दृष्टिकोण र प्राथमिकता स्पष्ट रुपमा उजागर गर्नु एवं यस मार्फत् अत्यधिक लाभ हासिल गरी नेपालको हित प्रबर्द्धन गर्नु रहेको बताए ।

भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँग मेरो दुई पक्षीय भेट हुने कार्यक्रम रहेको छ । बेइजिङमा चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुने जनाएको छ । चीनका राष्ट्रपति र उपराष्ट्रपतिले दिने छुट्टाछुट्टै रात्रिभोजमा सहभागी हुने ओलीले बताए । ओलीले चीन भ्रमणका क्रममा भदौ १६ गते थियानजिनमा हुने एससिओ प्लस शिखर सम्मेलनमा सहभागिता जनाउने र सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनका दौरानमा विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । ती भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुने जनाइएकोे छ ।

हालसम्म रूसी महासंघका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री श्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भइसकेको छ ।

कार्यक्रममा विश्वका नेताहरुसँगै नेपाली प्रतिनिधि मण्डलको भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवाद विरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण बिरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुनेछ । चीन सरकारले जानकारी दिए अनुसार ५० भन्दा बढी देशले यी कार्यक्रममा सहभागिता जनाउने जनाइएको छ ।

‘यस भ्रमणबाट नेपाल र चीनबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध थप सुदृढ हुनुका साथ एससिओ शिखर सम्मेलनमा मेरो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न समसामयिक विषयमा नेपालको अवधारणा एवं प्राथमिकताको प्रस्तुतिबाट मुलुकको छवि एवं प्रतिष्ठा अभिवृद्धि हुने मैले विश्वास लिएको छु’ ओलीले भने ।

भ्रमण दलमा प्रधानमन्त्री ओलीको पत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छबिलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime