सुनसरी । आन्दोलनकारीले जलाएको धरान उपमहानगरपालिका–९ स्थित पुतलीलाइनको भाटभटेनी सुपरमार्केटमा चार जनाको शव फेला परेको छ ।
जलेको अवस्था भेटिएका ती शव यही भदौ २४ गते मङ्गलबार जेनजी आन्दोलनका क्रममा सुपरमार्केटभित्र पसेको आन्दोलनकारी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।
खतिवडाका अनुसार आगजनीमा ती व्यक्ति सुपरमार्केटभित्रै फसेका थिए । मृतकमध्ये तीन जनाको शव चौथो तलामा र एक जनाको दोस्रो तलामा फेलापरेको उहाँले जानकारी दिए ।
प्रवक्ता खतिवडाले भने, ‘जलेको अवस्था रहेकाले शवहरूको पहिचान तत्काल सम्भव नभएको र अब डिएनए परीक्षणबाट मात्र पहिचान हुनेछ ।’ सबै शवको मुचुल्का उठाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको उनले बताए ।
भदौ २४ गते बेलुका करिब ७ बजे ‘जेनजी आन्दोलन’का क्रममा एक समूहले भाटभटेनी सुपरमार्केटको सटर फोडी पेट्रोल खन्याएर आगो लगाएका थिए । सो आगलागी आज बिहानमात्र नियन्त्रणमा आएको थियो ।






प्रतिक्रिया दिनुहोस्