Skip to content

म्याग्दीमा सार्वजनिक यातायातको भाडा समायोजन

म्याग्दी । म्याग्दीका सडकमा सार्वजनिक यातायात सेवा दिने सवारी साधनको भाडादर समायोजन भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा बिहीवार बेनीमा भएको सर्वपक्षीय बैठकले अस्थाइ मार्गमा सार्वजनिक यातायातको भाडादर निर्धारण र समायोजन गरेको हो । प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले स्तरोन्नति भएका सडकमा भाडादर समायोजन तथा नयाँ मार्ग खुलेका सडकको भाडादर निर्धारण गरिएको जानकारी दिए।

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड, बेनी–दरवाङ र बेनी–रत्नेचौर सडकमा प्रतिकिलोमिटर प्रतियात्रु बसभाडा १० र जिप भाडा १५ रुपैयाँ कायम भएको छ । बेनी–जोमसोम सडकको म्याग्दी खण्डको ३३ किलोमिटरमध्य २६ किलोमिटर कालोपत्रे भएको छ ।

चौविस किलोमिटर दूरीको बेनी–दरवाङ सडकको बेनी–तोलावाङ खण्डको १८ किलोमिटर कालोपत्र भएको छ । नयाँ भाडादरअनुसार बेनी–दरबाङ सडकमा बसमा प्रतियात्रु २४० रुपैयाँ, जिपमा ३६० र ट्याक्सीमा ४०८ रुपैयाँ भाडा कायम भएको छ ।

म्याग्दीका अन्य पक्की सडकमा प्रतिकिलोमिटर बसले १८ र जिपभाडा २५ रुपैयाँ भाडा तोकिएको छ । त्यसैगरी जिल्लाभित्रका सबै पक्की सडकमा यात्रुबाहक ट्याक्सीलाई प्रतियात्रु, प्रतिकिलोमिटर १७ र कच्ची सडकमा प्रतिकिलोमिटर ३० रुपैयाँ कायम भएको छ ।

त्यस्तै तोकिएको प्रतिकिलोमिटर भाडादर बाहेक नगरपालिका र गाउँपालिकाभित्र रहेका ग्रामिण सडकको पक्की, ढलान सडकमा यात्रुले प्रतिकिलोमिटर बसमा यात्रा गर्दा १४ र जिप भाडा १८ रुपैयाँ निर्धारण गरिएको छ ।

सडक स्तरोन्नति भए पनि सार्वजनिक यातायातको भाडादर कच्चीसडक सरह तिर्नुपरेको सर्वसाधारणको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले सहायक प्रमुख जिल्ला अधिकारी अनिषा आचार्यको नेतृत्वमा भाडादर समायोजनका लागि अध्ययन गर्न कार्यदल बनाएको थियो ।

उक्त कार्यदल र स्थानीय तहको सिफारिसका आधारमा जनप्रतिनिधी, यातायात ब्यवस्था कार्यालय तथा यातायात व्यवसायीको बैठकले भाडादर निर्धारण र समायोजन गरेको हो । तोकिएको भाडादर सबै पालिकाले सवारीसाधन र यात्रुले देख्ने स्थानमा टास्ने र प्रशासन तथा सुरक्षा निकायले नियमित अनुगमन गर्ने प्रजिअ तिवारीले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi