Skip to content

दसैं अवधिमा व्यापार कम्पनी सुर्खेतबाट १ करोड बढीको खाद्यान्न बिक्री

कर्णाली । कर्णाली प्रदेशस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतले दसैँ अवधिमा १ करोड बढीको खाद्यान्न बिक्री गरेको छ ।

भदौ ३० गतेदेखि सुपथ मूल्य पसल राखेर बिक्री सुरु गरेको व्यापार कम्पनीले दुई सातामा एक करोड १३ लाख पाँच हजार ७९१ रुपैयाँ मूल्य बराबरको खाद्यान्न बिक्री गरेको हो । यसअघि हरेक दिन करिब एक लाखको दरले बिक्री गरेकोमा दसैँ अवधिमा दैनिक १५ लाख बराबरको खाद्यान्न बिक्री गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश सुर्खेतका प्रादेशिक प्रमुख केशवराज बुढाले जानकारी दिए । उनका अनुसार दसैँ तथा तिहारलाई लक्षित गरेर सहुलियत दरमा खाद्यान्न बिक्री सुरु गरेपछि दश गुणाले कारोबार वृद्धि भएको छ ।

बुढाले भने, ‘दसैं तथा तिहारका लागि १५ हजार ५०० क्विन्टल चामल, १७ हजार क्विन्टल चिनी र २२ हजार लिटर तेलको कोटा निर्धारण गरिएको छ । आइरन, जिंक, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन र पाइरिडक्सिनलगायत पौष्टिक तत्वयुक्त सुदृढ चामलमा पछिल्लो समयमा नागरिकहरुको आकर्षण बढ्दै गएको छ ।’

सरकारले कर्णालीका नागरिकहरुको कुपोषण घटाउने उद्देश्यका साथ फोर्टिफाइड (सुदृढ) चामल वितरणमा जोड दिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कर्णालीका नौ जिल्लामा पुग्ने गरी एक लाख क्विन्टल खाद्य अनुदान कोटा छुट्याएकोे उनले बताए ।

व्यापार कम्पनीका सूचना अधिकारी शोभा रेग्मीले भदौ ३० गतेयता ८३५ क्विन्टल चामल, १३१ दशमलव ११ क्विन्टल चिनी र अठार हजार ६६० लिटर तेल बिक्री भएको बताए । नागरिकका लागि सहुलियत दरमा खाद्य वितरण सेवा आगामी कात्तिक १० गतेसम्मका लागि प्रवाह गरिने कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi